शनिबार, १२ जुलाइ, २०२५
10:03 | १४:४८

तामझामसहित डा. रक्षाले गरिन् एनआरएनए यूके उपाध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली लिङ्क जुलाइ १०, २०२५

लन्डन-लन्डनस्थित एक सफल महिला उद्यमी डा. रक्षा थापाले एनआरएनए यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् ।

बिहीबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा तामझामका साथ आयोजित समारोहमा डा. थापाले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

लन्डनको एक सफल व्यवसायिक कम्पनी माया सर्पोटेड लिभिङकी निर्देशक उनले आफ्नो उम्मेदवारी कुनै राजनीतिक प्यानलबाट नभइ स्वतन्त्र रहेको पनि प्रष्ट्याइन् ।

घोषणासभामा डा. थापाले आफूले लामो समयदेखि सामाजिक संघसंस्थामा सक्रिय भूमिका निर्वाह गरेको जनाउंदै आफ्नो सम्पूर्ण कार्यकाल नेपाली समुदायको हित, सम्मान र समृद्धिमा समर्पित गर्ने दृढ प्रतिवद्धता व्यक्त गरिन् ।

उनले बुंदागत रुपमा ११ प्रतिवद्धता सार्वजनिक गर्दै संस्थागत संरचना सुदृढीकरण र एकता प्रवर्धन, युवा सशक्तिकरण र नेतृत्व विकास, नेपाली संघसंस्थाबीचको एकता र सहकार्य सुदृढ गर्दै एनआरएन अभियानलाई प्रभावकारी बनाउने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् ।

गोर्खाहरुको न्यायपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता जनाउंदै उनले गोर्खाहरुका माग पुरा गर्न बेलायत र नेपाल सरकार एवं सम्बन्धित निकायहरुसंग समन्वय गर्ने, नेपाली नागरिकता निरन्तरताका लागि आवश्यक नीतिगत पहल गर्ने, महिलाको सामाजिक, सांस्कृतिक र व्यवसायिक सशक्तिकरणमा केन्द्रित विशेष कार्यक्रम सञ्चालन गर्ने, बेलायतस्थित नेपाली समुदायको हित संरक्षण, नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण, दिगो परोपकार र विकास अभियान, संस्थागत पारदर्शीता र जवाफदेहीता, नेपाल बेलायत सम्बन्ध सुदृढीकरण आदि पनि आफ्नो प्रतिवद्धतामा समावेश गरेकी छन् ।

आफ्नो उम्मेदवारी केवल पदका लागि मात्र नभइ दृष्टिकोण, आवाज र भविष्यको छनोट रहेको जनाउंदै डा. थापाले सबैसंग सहकार्य गर्दै समावेशी, सशक्त र प्रभावकारी एनआरएनए यूके निर्माणमा अग्रसर हुने जनाइन् ।

‘संस्था बिग्रेको छ, रोग लागेको छ भनेर छाड्नु भन्दा उपचार गर्न म अगाडि सरेको हुं’, थापाले भनिन् ।

एनआरएनमा प्राध्यापक, अनुसन्धानकर्ता र बुद्धिजिवीहरुलाई समेत जोडेर ज्ञान साटासाट, सही निर्णयमा सहयोग र विदेशमा नेपाली प्रतिभाको समुचित प्रतिनिधित्व गराउने उनको योजना छ ।

घोषणासभामा विभिन्न संघसंस्थाका अगुवाहरुले अग्रीम शुभकामना दिएका छन् ।

शुभकामना मन्तव्यका क्रममा डा. थापाका श्रीमान् राज पाण्डेले संस्थालाई बाहिरबाट गाली गरेर होइन्, संस्थाभित्रै रहेर सुधार गर्न सकिने विश्वासका साथ उनलाई अगाडि बढ्न प्रोत्साहित गरेको बताए । पाण्डेले संस्थामा राजनीति गर्न नभइ काम गर्न आएको पनि उल्लेख गरे ।

यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष उमेशराज मोक्तानले थापालाई जिताउन खुलेरै लाग्ने बताए । उनले सबै मतदातालाई मत दिएर नेतृत्वमा महिलालाई अवसर दिन अपिल गरे ।

यती नेपाली एसोसिएसन यूके अध्यक्ष टंक भट्टराईले डा. थापाले यसअघि व्यवसायिक र सामाजिक नेतृत्व प्रमाणित गरिसकेको जनाउंदै अब संघमा युवाहरुको खांचो रहेको बताए ।

आरजीएनएसका पूर्व अध्यक्ष पूण्य रेग्मीले हेटौंडाको सामान्य परिवारबाट यूके आएर थापाले यहां व्यवसाय तथा सामाजिक क्षेत्रमा उदाहरणीय र प्रेरणादायी सफलता हासिल गरेको बताए ।

उनले डा. थापालाई विश्वास गर्नु समग्र युवा पुस्तालाई नै अवसर र प्राथमिकता दिनु रहेको जनाउंदै मत दिन आग्रह गरे ।

सोसाइटी अफ नेपलिज प्रोफेसनल्स् यूके अध्यक्ष गजेन कटुवालले एनआरएनए, नेता र बेलायतको डायष्पोरामाथि नकारात्मक टिकाटिप्पणी भइरहेको र संस्थाको साख खस्किंदा अब रक्षा थापाले त्यसलाई रक्षा गर्ने धारणा राखे ।

नेपलिज नर्सिंङ एसोसिएसन यूकेका पूर्व अध्यक्ष बिनोदविकास सिम्खडाले लिडरसीप क्वालिटी, योग्यता र विचारका कारण रक्षाहरु नेतृत्वमा आउनुपर्नेमा जोड दिए ।

स्लाउ नेपलिज सोसाइटी यूकेका अध्यक्ष लेखनाथ घिमिरेले बेलायतको सबैभन्दा रोगी संस्था एनआरएनए यूकेलाई डा. रक्षाले सुशासन र वित्तिय पारदर्शीतामार्फत रोगबाट बाहिर आउन मद्दत गर्ने आशा व्यक्त गर्दै जीतका लागि शुभकामना दिए ।

एनआरएनए यूके निर्वाचन आउंदो २६ जुलाईमा अनलाइनमार्फत हुंदैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू