बुधबार, ९ जुलाइ, २०२५
20:54 | ०१:३९

बेलायतमा ज्यान गुमाएका विपिन र सुशानको लन्डनमा एकैदिन भयो अन्त्येष्टि

नेपाली लिङ्क जुलाइ ९, २०२५

लन्डन- पछिल्लो समय असामयिक रुपमा बेलायतमै ज्यान गुमाएका दुई नेपाली युवाको मंगलबार एकैदिन लन्डनमा अन्त्येष्टि भएको छ ।

गत जुन १४ तारिख लन्डनको वेम्बली स्टेडियमभित्र कार्यस्थलमै मृत भेटिएका २७ वर्षीय विपिन न्यौपाने र गत अप्रिल २८ तारिखमा लन्डन थेम्स नदीकिनारमा शव फेला परेका २० वर्षीय सुशान ओलीको लन्डनका दुई छुट्टाछु्टै क्रिमेटोरियममा एकैदिन अन्त्येष्टि भएको हो ।

गुल्मीको जोहाङ पुर्ख्यौली र हाल रुपन्देहीको मणिग्राममा घर भएका स्वर्गीय विपिन न्यौपानको अन्त्येष्टि लन्डन एल्थामको क्रिमेटोरियममा सम्पन्न भयो ।

बेलायतमै रहेका उनका आफन्तहरुको संयोजनमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका लागि आवश्यक खर्च उनी कार्यरत रहेको कम्पनीले व्यहोरिदिएको विपिनका बेलायतस्थित एक आफन्त विष्णु भण्डारीले जनाए।

विपिनको अन्तिम बिदाइमा उनका आफन्तदेखि उनले काम गर्ने कम्पनीका प्रतिनिधि एवम् सहकर्मीहरु सहभागी भएका थिए ।

डेढ वर्षअघि अध्ययनका लागि बेलायत आएका विपिनले यहाँको सेन्ट जोन युनिभर्सिटीबाट मास्टर्स पूरा गरी हालै मात्र पिएसडब्लु भिजा लिएर फुलटाइम काम शुरु गरेका थिए ।

साउथ इष्ट लन्डनमा विपिनको अन्त्येष्टि भएकै दिन उता वेष्ट लन्डनको फेल्थाममा गत अप्रिल अन्तिम साता ज्यान गुमाएका सुशान ओलीको अन्त्येष्टि भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क विभाग बेलायतको संयोजनमा सुशानको अन्त्येष्टि गरिएको विभागका सचिव रमेश वेल्बासेले जनाए । अन्त्येष्टिमा सहभागीमध्ये अधिकांश रास्वपाका सदस्यहरु थिए भने केही नेपाली समुदायका प्रतिनिधि र सुशानका आफन्त पनि थिए ।

रुकुम पश्चिमको मुसिकोट स्थायी घर भएका सुशान एक वर्षअघि बेलायत आएर कोभेन्ट्री युनिभर्सिटीमा अध्ययन गर्दै थिए । गत अप्रिल २३ तारिखमा लन्डनबाट सम्पर्कविहिन सुशानलाई त्यसको पाँच दिनपछि बेलायती प्रहरीले थेम्स नदी किनारमा मृत फेला पारेको थियो ।

बेलायतमा मृत्युवरण गरेका आफ्नो छोराको अन्तिम बिदाइमा आफै सहभागी हुन नपाएका विपिन र सुशानका दुवै परिवारले बेलायतमा भइरहेको छोराको अन्त्येष्टि नेपालबाटै लाइभ भिडियोमा हेरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू