बुधबार, ९ जुलाइ, २०२५
00:11 | ०४:५६

शुरु भयो आठौं पिपल नेपालकप क्रिकेट, बाँकी खेल बुधबार र आइतबार

नेपाली लिङ्क जुलाइ ८, २०२५

लन्डन- बेलायतको नेपाली समुदायमा वर्षेनी आयोजना हुंदै आएको नेपालकप क्रिकेटको आठौं संस्करण गत आइतबार शुरु भएको छ ।

पोखरेली मञ्च यूकेको आयोजनामा रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट एण्ड हक्की क्लबको ग्राउन्डमा प्रतियोगिता शुरु भएको हो ।

एक विशेष समारोहबीच मञ्चका अध्यक्ष करम गुरुङ र प्रमुख अतिथि लन्डन ग्रीनवीचका पूर्व मेयर काउन्सिलर जीत रानाभाटसहितले प्रतियोगिता उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उदघाटन दिनका खेलहरुमा पोल बी र पोल सीमा रहेका तीन-तीन टीमले समूह चरणमा आफ्नो समूहका अरु दुई टीमसंग खेले । जसबाट पोल बीमा हिमालयन क्रिकेट क्लब र पोल सीमा खुकुरी क्रिकेट क्लब समूह विजेता बन्दै सेमीफाइनल प्रवेश गरेका छन् ।

पोल बीमा हिमालयनले दुई खेलमा वुल्भरह्याम्पट र गोर्खा केन्टलाई हरायो । दुवै खेलमा हिमालयनका प्रफुल वाग्ले म्यान अफ म्याच बने ।

त्यस्तै, पोल सीमा खुकुरी क्रिकेट क्लबले रमाइलो क्रिकेट क्लब र क्वीन्स गोर्खा सिग्नललाई हरायो । यी दुई खेलमा क्रमशः यम थापा र हरिशंकर शाह म्यान अफ द म्याच बन्न सफल भए ।

पोल ए र पोल डीमा रहेका बाँकी तीन-तीन टीमले समूह चरणका दुई-दुई खेल बुधबार खेल्दैछन् । दुवै समूहका विजेता सेमीफाइनल प्रवेश गर्नेछन् ।

पोल एमा माया, वीन्चेष्टर र एभरेष्ट क्लब छन् भने पोल डीमा नवयुवा, माया बी र मिडल्यान्ड वारियर छन्।

प्रतियोगिताका सेमीफाइनल र फाइनल खेल भने आउँदो आइतबार १३ जुलाइमा खेलिनेछन् ।

फाइनलका दिन विशेष कार्यक्रमबीच प्रतियोगिताको समापन गरिनेछ । बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि समेतको उपस्थिति रहने उक्त अवसरमा नेपालबाट आएका गायिकाद्वय प्रिया गुरुङ र पवित्रा गुरुङ साथै डान्सर आरुषी मगरले प्रस्तुति दिंदैछन् ।

आयोजक पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले खेलाडीहरुलाई हौसला दिन तथा खेल, सांस्कृतिक कार्यक्रम र नेपाली खानासमेत इन्जोइ गर्न कार्यक्रममा सहभागी भइदिन बेलायतवासी सबै नेपालीलाई आग्रह गरेका छन्।

प्रतियोगितामा विजेता टिमलाई २ हजार पाउण्ड नगद, ट्रफी र मेडलसहित पुरस्कार दिइनेछ भने दोस्रो हुने टिम (रनरअप) ले एक हजार पाउण्ड नगद, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

त्यस्तै, प्लेयर अफ द टुर्नामेन्टलाई ३०० पाउण्ड र ट्रफी, वेष्ट बलर अफ द सिरिजलाई २५० पाउण्ड नगद र ट्रफी तथा वेष्ट ब्याट्सम्यान अफ द सिरिज हुनेलाई २५० पाउण्ड नगद र ट्रफीसहित पुरस्कृत गरिनेछ ।

इभेन्ट स्पोन्सर पिपल मोर्गेजका सूर्य गुरुङ छन् भने पहिलो पुरस्कार माया ग्रुपका राज पाण्डेले, प्लेयर अफ द टुर्नामेन्ट एभरेष्ट तन्दुरी रेडिङका दावा लामाले, वेष्ट बलर अफ द सिरिजका जे जे डिजाइन एण्ड बिल्ड्सका ज्याक गुरुङले र वेष्ट ब्याट्सम्यान अफ द सिरिजको प्रायोजन डब्लु थ्री वेव टेक्नोलोजीका महेन्द्र कुंवरले प्रायोजन गरेका छन् ।

बेलायतमा रहेका नेपाली क्रिकेटरहरुलाई प्रोत्साहन गर्न पोखरेली मञ्च यूकेले सन् २०१६ देखि वर्षेनी प्रतियोगिता गर्दै आएको छ ।

तस्विर: दिपु गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू