अल्डरसटमा ‘काव्य सन्ध्या’ तयारी




गत वर्ष कविता वाचन गरेका स्रष्टाहरू बायाँबाट क्रमशः डा. सङ्गीता स्वेच्छा, जीवन तिवारी, शान्ति लिम्बु, निर्भीकजङ्ग रायमाझी, खुपेन सुनुवार, मुकेश राई, डा. रूपक श्रेष्ठ, नरेश काङमाङ राई साथमा कार्यक्रम सन्चालक केदार सँकेत
लन्डन-बेलायतको अल्डरसटस्थित सुसी मोटो रेस्टुराँमा यही अगस्ट १६ तारिख एक साहित्यिक कार्यक्रम “काव्य सन्ध्या” हुने भएको छ।
बेलायतमा रहेर लामो समयदेखि साहित्यमा समर्पित रहँदै आएका साहित्यकारहरूको संयुक्त समन्वयमा साहित्य सङ्गालो परिवारले गत वर्ष आरम्भ गरेको यो शृङ्खला यस वर्ष पनि निरन्तरताका साथ आयोजना हुँदैछ।
गत वर्ष करिब १०० जना दर्शक–स्रोताहरूको उपस्थितिमा आठजना कविले आफ्ना तीन–तीनवटा कविता वाचन गरेका थिए। त्यही अवसरमा रोशन महर्जनले टुङ्गना र सारंगीको सुमधुर धुनमा कविता वाचन गरेर कार्यक्रममा भाव–लयको उत्कर्ष पुराएका थिए।
आजभोलिका अधिकांश कार्यक्रमहरू औपचारिकताको भारीले थिचिएका हुन्छन्, जसले गर्दा कार्यक्रमहरू लामो र कहिलेकाहीँ अल्छिलाग्दो हुन्छन्।
तर “काव्य सन्ध्या” कार्यक्रम भने कुनै प्रमुख अतिथि बिना, औपचारिक भाषण वा आसनग्रहण जस्ता परम्परागत शैली हटाएर, केवल सिर्जनात्मक वाचनमा केन्द्रित हुने भएकाले पृथक र ताजा अनुभूति दिनेछ।
आयोजकहरूका अनुसार यस प्रकारको कार्यक्रमले परम्परागत ढाँचालाई विस्थापित गर्दै नयाँ दृष्टिकोण स्थापनाको संकेत दिएको छ।
यस वर्ष पनि आठ जना कविहरूले आफ्ना तीनथान कविता नेपाली मौलिक बाजा—टुङ्गना र सारंगीको साथमा प्रत्यक्ष प्रस्तुत गर्नेछन्। गत वर्षको उल्लेखनीय उपस्थिति हेरेर यसपालि कार्यक्रम अलिकति ठूलो हलमा आयोजना गरिने जानकारी आयोजक समितिले दिएको छ।