शुक्रबार, ४ जुलाइ, २०२५
00:11 | ०४:५६

एनआरएनए यूके महासचिवमा पुण्य रेग्मीको उम्मेदवारी घोषणा

नेपाली लिङ्क जुलाइ ३, २०२५


लन्डन — साउथ इष्ट लन्डनस्थित नेपाली समुदायको साझा संस्था ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी’ (RGNS) का निवर्तमान अध्यक्ष पुण्य रेग्मीले गैरआवासीय नेपाली संघ यूकेको आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

रेग्मीले एनआरएनए अभियानमा विगतदेखि सक्रिय योगदान दिँदै आएका छन्। उनले संस्थागत विकास, युवा सहभागिता, र पारदर्शिता मूलमन्त्रका साथ एनआरएनएको आगामी महाधिबेशन सहभागी हुन आफू तयार भएको बताए ।

उनले भने, ‘मैले एनआरएनए अभियानसँग लामो समयदेखि नजिकबाट काम गर्दै आएको छु। यसबीचमा मैले धेरै कुरा बुझें, सिकें र अनुभव गरें। अहिले समय आएको छ, त्यो अनुभवलाई जिम्मेवारीमा रूपान्तरण गर्ने।’

रेग्मीका अनुसार हालसम्म विभिन्न क्षेत्रका अग्रज, मित्र, सहकर्मी तथा शुभेच्छुकहरूसँग छलफल र परामर्श भइसकेको छ। उनी भन्छन्, ‘सुझाव, समर्थन र प्रेरणाले नै मलाई यो निर्णयमा पुग्न सहयोग गर्‍यो। अब म महासचिव पदका लागि आधिकारिक उम्मेदवारी घोषणा प्रेस मिटमार्फत छिट्टै गर्नेछु।’

रेग्मीको नेतृत्वमा आरजीएनएसले लन्डन क्षेत्रका नेपालीहरूबीच एकता, सामाजिक उत्थान र संस्कृतिको प्रवर्द्धनका लागि उल्लेखनीय कार्य गरेको छ। उनले लन्डन क्षेत्रका नेपाली समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा विभिन्न पहलमार्फत सशक्त उपस्थिति जनाउँदै आएका छन्।

उनको उम्मेदवारीले एनआरएनए यूकेको आगामी निर्वाचनमा थप प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने देखिन्छ।

पेशाले इन्जिनियर उनी प्रवासी नेपाली मञ्च यूकेको पूर्व सचिव, यति नेपाली एशोसिएसन यूकेको पूर्व कोषाध्यक्ष, सोसाइटी अफ नेपाली प्रोफेसनल्स यूकेको पूर्व अध्यक्ष तथा अन्य विभिन्न संस्थामा पनि सक्रिय रूपमा संलग्न रहेका अनुभवी व्यक्तित्व हुन्।

एनआरएनए यूकेको निर्वाचन यही जुलाई २६ मा हुँदैछ। यसै सन्दर्भमा अन्य सम्भावित उम्मेदवारहरूले पनि आ–आफ्नो तयारी तीव्र बनाइरहेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू