बेलायतमा सुतेकै ठाउँमा मृत भेटिए भक्तपुरका प्रजापति



लन्डन- बेलायतको नर्दन आयरल्यान्डमा बस्दै आएका भक्तपुरका ओमी प्रजापतिको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
बेलफाष्ट सिटीको फिनेगी भन्ने ठाउँमा आफ्नै निवासमा सुतिरहेका ३० वर्षीय प्रजापति मंगलबार बेलुका स्थानीय समयअनुसार ७ बजेतिर मृत भेटिएका हुन् ।
प्रजापति कार्यरत रेष्टुरेन्टका सञ्चालक समेत रहेका स्थानीय नेपाली समाजका पूर्व अध्यक्ष अब्जन आचार्यका अनुसार उनीसंग एउटै घरमा बस्दै आएका अरु नेपालीले अचेत अवस्थामा भेटेपछि तत्कालै एम्बुलेन्सलाई खबर गरेका थिए ।
केही मिनेटभित्रै एम्बुलेन्समा आएका प्यारामेडिकको टोलीले जाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।
स्थानीय प्रहरीले पनि प्रारम्भिक रुपमा प्रजापतिको मृत्युलाई आकस्मिक मृत्युका रुपमा हेरेको छ र घटनामा अरुको संलग्नता आशंका गरेको छैन । हाल उनको शव कोरोनर अफिसमा राखेर मृत्युको कारणबारे थप अनुसन्धान शुरु गरिएको छ ।
‘मंगलबार उहाँको बिदा थियो । सोमबार राती साथीहरुसंग नेपाली फिल्म हेर्न जानुभएको थियो । फिल्मपछि खानपीन, घुमघाम गर्दै राती निकै अबेर फर्किएर मंगलबार बिहानपख मात्रै सुत्नुभएको रहेछ । त्यसअघि पनि बिदाको दिन अबेलासम्म सुत्ने गरेकाले दिनभर अरुलाई खासै वास्ता भएन । सोही घरमा बस्ने बहिनीहरुले बेलुका कामबाट फर्किंदासम्म पनि उहाँ नउठेको देखेपछि भने बोलाउनुभएछ । नजिकै पुगेर बोलाउँदा पनि नबोलेपछि ओछ्यानमै गएर हेर्दा सुतेकै ठाउँमा अचेत हुनुहंदो रहेछ’, रेष्टुरेन्ट सञ्चालक आचार्यले भने ।
प्यारामेडिकहरुले जाँच गर्दा केहि घण्टाअघि नै मृत्यु भइसकेको हुन सक्ने आशंका गरेका छन् ।
नेपालीलिंकलाई प्राप्त जानकारीअनुसार मृतक प्रजापति नेपालमा भक्तपुर ठिमीका हुन् ।
गत वर्ष सन् २०२४ जनवरीमा उनी बेलायत आएका हुन् । डिपेन्डेन्ट भिसामा बेलायत आएका उनी केही समयलगत्तै पार्टनरसंग छुट्टिएका थिए । त्यसपछि कामको लागि लन्डनको वुल्लीच, साउथहल हुंदै लन्डनबाहिर लिड्स र योर्कसम्मका ठाउंमा भौतारिएपछि एक वर्षअघि उनी नर्दन आयरल्यान्ड पुगेका थिए । त्यहाँ एक नेपाली रेष्टुरेन्टमा उनी सेफका रुपमा कार्यरत थिए।
उनका बाबुआमा र एक बहिनी भक्तपुरमै बस्दै आएका छन् ।
कोरोनर अफिसबाट मृत्युको कारणबारे रिपोर्ट आइसकेपछि परिवारसंगको सल्लाहमा मृतकको शव नेपाल पठाउने प्रक्रिया अगाडि बढाइने आचार्यले बताए ।