भूतपूर्व गोर्खाहरुले बेलायती संसद भवन अगाडि गरे प्रदर्शन



लन्डन । ब्रिटिश भूतपूर्व गोर्खाहरुले मंगलबार बेलायती संसद भवन अगाडि प्रदर्शन गरेका छन् ।
विभिन्न गोर्खा संगठनलाई प्रतिनिधित्व गर्ने जी टेन समूहले ‘सिम्बोलिक’ मिति १ जुलाईका दिन प्रदर्शन गरेको हो ।
मेजर रिटायर्ड उदयबहादुर गुरुङ र गोर्खा अभियन्ता ज्ञानराज राईले उक्त भेला संयोजन गरेका हुन् ।
भूतपूर्व गोर्खाहरु शुरुमा लन्डनको ट्राफलगर स्क्वायरमा भेला भएर मार्च पास गर्दै गोर्खा सालिक पुगेका थिए । सालिकमा रिथ चढाएर एक मिनेट मौनधारण गरेपछि उनीहरु पार्लियामेन्ट स्क्वायरमा भेला भए ।
सो भेलामा रेडिङ सेन्ट्रल सांसद म्याट रोडडा, अल्डरसट क्षेत्रकी सांसद एलेक्स बेकर, स्टकपोर्ट सांसद नभिन्दु मिश्रा लगायत करिब आधा दर्जन सांसदले भूतपूर्व गोर्खाहरुका पेन्सन लगायत समान अधिकार मागमा ऐक्यवद्धता व्यक्त गरेका थिए ।
भेलालाई जी टेन समूहमा आवद्ध अभियन्ताहरु मेजर रिटायर्ड उदयबहादुर गुरुङ, मेजर रिटायर्ड टिकेन्द्र दल देवान, मेजर रि. जुदबहादुर गुरुङ, कृष्णकुमार राई, धर्म तामाङ र पुष्पा राणा घलेले पनि सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा गोर्खा अभियन्ताहरुले वर्षौंदेखि बेलायतले आफूहरुमाथि गर्दै आएको भेदभावबारे दोहोर्याए । बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खाहरु सम्मिलित ‘जीटुजी’ वार्ता छिट्टै निष्कर्षमा पुर्याउन पनि उनीहरुले माग गरे ।
पछि बेलायतको सर्वदलीय संसदीय समितिको नेपाल हेर्ने अध्यक्ष सांसद एलेक्स बेकरले गोर्खा नेताहरुलाई संसद भवनभित्र आमन्त्रण गरि गोर्खा मागबारे संक्षिप्त छलफल गरेकी थिइन् । बेकर नेपाली उल्लेख्य रहेको अल्डरसट क्षेत्रकी सांसद हुन् ।
बेलायतले १ जुलाई १९९७ सालमा हङकङ चीनलाई बुझाएको थियो । भूतपूर्व गोर्खाहरु बेलायत आएपछि पनि हङकङमा भएकै गोर्खा टर्म्स एण्ड कण्डिसन अफ सर्भिस राखियो ।
बेलायतले सन् १९९७ पछि पेन्सन आउनेलाई मात्र सन् २००४ मा सेटलमेन्ट राइट दिएको थियो । सन् २००७ सालदेखि भने बराबर गरेको मेजर (रि) जुदबहादुर गुरुङले जनाए ।
गेसोले मुद्दा हालेपछि नेता पिटर क्यारोल र अभिनेत्री जोआना लम्लीको सशक्त क्याम्पियनबाट बेलायतले सन् २००९ मा सबैलाई आवासीय अधिकार दिने घोषणा गरेको थियो । तस्विर- ओमेन्द्र गुरुङ