बेलायतमा आठौं पिपल नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा १२ टिम भिड्दै



लन्डन– पोखरेली मञ्च यूकेले आठौं पिपल नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।आउंदो जुलाई ६ मा उद्घाटन खेलपछि ९ जुलाईमा समेत खेलाइने उक्त प्रतियोगिताको सेमिफाइनल र फाइनल १३ तारिख हुन लागेको पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले बताए ।
तीन दिनसम्म प्रतियोगिता गराउने नेपाली डायष्पोरामा मञ्चमात्र एक संस्था हो ।
सोनिङ लेन रेडिङस्थित रेडिङ क्रिकेट एण्ड हक्की क्लब मैदानमा हुने पिपल नेपाल कपको आठौं संस्करणमा १२ टिमले प्रतिष्पर्धा गर्दैछन् ।
खुकुरी क्रिकेट क्लब, माया क्रिकेट क्लब, हिमालयन क्रिकेट क्लब, नयां युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब, रमाइलो क्रिकेट क्लब, मिडल्याण्ड्स वारियर्स क्रिकेट क्लब, क्वीन्स् गोर्खा सिग्नल्स्, माया क्रिकेट क्लव (बी), वीन्चेष्टर क्रिकेट क्लब, वुल्भरह्याम्पटन वारियर्ज क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लबले प्रतिष्पर्धा गर्ने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए ।
यसपटक टिममात्र होइन्, पुरस्कार राशी समेत बढाइएको छ । प्रतियोगितामा विजेता टिमलाई २ हजार पाउण्ड नगद, ट्रफी र मेडलसहित पुरस्कार दिइनेछ भने दोस्रो हुने टिम (रनरअप) ले एक हजार पाउण्ड नगद, ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
त्यस्तै, प्लेयर अफ द टुर्नामेन्ट हुने खेलाडीलाई ३०० पाउण्ड र ट्रफी, वेष्ट बलर अफ द सिरिजलाई २५० पाउण्ड नगद र ट्रफी तथा वेष्ट ब्याट्सम्यान अफ द सिरिज हुनेलाई २५० पाउण्ड नगद र ट्रफीसहित पुरस्कृत गरिनेछ ।
इभेन्ट स्पोन्सर पिपलका सूर्य गुरुङ, पहिलो पुरस्कार माया ग्रुपका राज पाण्डेले, प्लेयर अफ द टुर्नामेन्ट एभरेष्ट तन्दुरी रेडिङका दावा लामाले, वेष्ट बलर अफ द सिरिजका जे जे डिजाइन एण्ड बिल्ड्सका ज्याक गुरुङले र वेष्ट ब्याट्सम्यान अफ द सिरिजको प्रायोजन डब्लु थ्री वेव टेक्नोलोजीका महेन्द्र कुंवरले प्रायोजन गरेका छन् ।
बेलायतमा रहेका नेपाली क्रिकेटरहरुलाई प्रोत्साहन गर्न वर्षेनी प्रतियोगिता गरिएको पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले बताए ।
क्रिकेट खेल सञ्चालन गर्न आइसीसीबाट मान्यताप्राप्त रेफ्रीहरु ल्याइनेछ ।
मञ्च अध्यक्ष गुरुङले इभेन्टमा सहभागी भएर खेलाडीलाई हौसला प्रदान गर्न सबैमा अपिल गरेका छन् ।
सन् २००८ मा स्थापित बेलायतको च्यारिटी संस्था मञ्चले सन् २०१६ देखि क्रिकेट प्रतियोगिता शुरु गरेको थियो । पहिलो खेल पोखरा कप नामाकरण गरि खेलाइएको थियो भने जम्मा ४ वटा टिममात्र सहभागी थिए । कोभिड महामारीका कारण केही वर्ष रोकिएपनि मञ्चले यसलाई निरन्तरता दिएको छ ।