मंगलबार, १ जुलाइ, २०२५
07:07 | ११:५२

लन्डनका धावक सन्तोषले वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा फहराए नेपाली झण्डा

नेपाली लिङ्क जुन ३०, २०२५

लन्डन । लन्डनवासी नेपाली धावक सन्तोष राईले स्पेनमा आयोजित वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गरेका छन् ।

२९ जुन आइतबार स्पेनको पोन्टेभेड्रामा भएको उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व सन्तोषले ४० देखि ४४ वर्ष उमेर समूहमा प्रतिष्पर्धा गरेका हुन् ।

नेपाल ट्रायथलन एसोसिएसनले दुई खेलाडी छनोट गरेको थियो जसमा बेलायतबाट सन्तोष र अमेरिकाको बोस्टनबाट ५० देखि ५४ उमेर समूहमा सन्तोष कर्माचार्यले प्रतिष्पर्धा गरेका थिए ।

३ किमी स्वीमिङ, १२१ किमी बाइक राइड (साइक्लिनिङ) र ३० किमी रनिङ समावेश ट्रायथलन प्रतियोगितामा राई टप १७ मा पर्न सफल भए । उनको उमेर समूहमा ४४ जना प्रतिष्पर्धी थिए । लामो दूरीको ट्रायथलन एकदम गार्‍हो खेल मानिन्छ ।

‘स्पेनको पोन्टेभेड्रामा भएको विश्व च्याम्पियनसीप लामो दूरीको ट्रायथलनमा नेपालको प्रतिनिधित्व गर्नु मेरा लागि एक अविश्वसनीय यात्रा भएको छ’, राईले भने, ‘चर्को गर्मी र अत्यधिक प्राविधिक रेस कोर्सको बावजुद अष्ट्रेलियाको टाउन्सभिलमा भन्दा यसपटक सहज र उत्कृष्ट प्रदर्शन गर्न सफल भयौं ।’

बेलायतबाट सन्तोष राई र अमेरिकाको बोस्टनबाट आएका सन्तोष कर्माचार्य ।

सन्तोषद्वयले गत वर्ष अगष्टमा अष्ट्रेलियामा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा प्रतिष्पर्धा गरेका थिए । पहिलोपटक सन्तोष राई टप १३ मा आउन सफल भएका थिए ।

राईले अष्ट्रेलियाको नर्थ क्वीन्सल्याण्डस्थित टाउन्स भेलमा भएको वर्ल्ड च्याम्पियनसीप अन्तर्गत एलिट क्याटेगोरीमा प्रतिष्पर्धा गरेका थिए ।

नेपाल रन यूकेका संस्थापक हुन् सन्तोष राई । उनले गत २७ अप्रिल लन्डनमा आयोजित संसारकै प्रतिष्ठित लन्डन म्याराथनको ४५औं संस्करणमा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएर ‘गिनिज वर्ल्ड रेकर्ड’ बनाएका थिए ।

सन्तोषले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू