बेलायतमा ‘हिट वेभ’ सकस, आज जुन महिनाकै नयाँ कीर्तिमान



लन्डन — बेलायतमा केही दिनदेखि बढ्दो तापक्रमले मानिसलाई कस्टकर भइरहंदा सोमबार जुन महिनाकै उच्च तापक्रमको नयाँ रेकर्ड कायम गर्ने आंकलन गरिएको छ ।
गत शुक्रबारदेखि जारी हिटवेभ अर्थात गर्मीको लहर सोमबार ३४ डिग्री सेल्सियस पुग्ने सम्भावना छ भने कतिपय स्थानमा ३५ डिग्रीसमेत पुग्न सक्ने पूर्वानुमान गरिएको छ।
सोमबारको तापक्रम ३४ डिग्री नाघ्यो भने बेलायती इतिहासमा जुन महिनामा कायम गरिएका तीनवटा उच्च तापक्रम अन्तर्गत पर्नेछ।
१९६० यता जुन महिनामा बेलायतको तापक्रम केवल तीन वर्ष ३४ डिग्री सेल्सियस नाघेको छ । जुन २८ जुन १९७६ मा सबैभन्दा तातो ३५.६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो।
यो गर्मीको लहर बार्बाडोस, जमैका र मेक्सिकोका होलिडे स्पटहरू भन्दा बढी तातो हुने अनुमान गरिएको छ।
लगातार चौथो दिनको बढ्दो तापक्रमको प्रभावलाई मध्यनजर राख्दै बेलायतमा आयोजित ग्लास्टनबरी फेस्टिभलमा सहभागी दर्शकलाई आयोजकले सोमबार बिहानै कार्यक्रमस्थल छाड्न अनुरोध गरेका छन् ।
ग्लास्टनबरी फेस्टिभल विश्वको सबैभन्दा ठूलो म्यूजिक फेस्टिभलमध्ये एक हो जहाँ प्रत्येक वर्ष हजारौं मानिस सहभागी हुने गर्छन्।
बेलायतको पाँचवटा क्षेत्र पूर्वी मिडल्याण्ड्स, दक्षिणपूर्व, दक्षिणपश्चिम, लन्डन र पूर्वी इंग्ल्याण्डमा शुक्रबारदेखि नै एम्बर हिट-हेल्थ अलर्ट जारी गरिएको छ।
यी क्षेत्रहरूमा यात्रा ढिलाइ हुने, स्वास्थ्य सेवामा असर पुग्ने र आगलागीको उच्च जोखिमसमेत देखिएको छ। लन्डन फायर ब्रिगेडले बन डढेलोको गम्भीर चेतावनी जारी गरेको छ।
यूके हेल्थ सेक्युरिटी एजेन्सी (यूएचएसए) का अनुसार, अत्यधिक गर्मीका कारण विशेषगरी वृद्ध, बिरामी तथा कमजोर व्यक्तिहरूमा मृत्युदर बढ्न सक्ने सम्भावना छ।
विशेषगरी ११ देखि ३ बजेको बीचमा अत्यधिक गर्मी हुने भएकाले उक्त समयमा बढी सावधान अपनाउन अनुरोध गरिएको छ ।
गर्मीबाट सुरक्षित रहन, प्रशस्त पानी पिउन, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र शितल छहारीमा बस्न सुझाव दिइएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५