सोमबार, ३० जुन, २०२५
21:08 | ०१:५३

बेलायतमा पहिलोपटक हुंदैछ ‘लन्डन इन्द्रजात्रा’

नेपाली लिङ्क जुन २८, २०२५

लन्डन- पासा पुच गुथि यूकेले पहिलोपटक लन्डनमा इन्द्र जात्रा गर्ने भएको छ ।

लन्डन फेल्थामस्थित स्प्रीङवेष्ट एकेडेमी प्राङ्गणमा आउंदो १६ अगष्ट मध्यानह १२ देखि सांझ ७ बजेसम्म इन्द्र जात्रा गर्न लागिएको आयोजकले शनिबार एक पत्रकार सम्मेलनमार्फत जनाएका हुन् ।

काठमाडौंमा ८ दिन सम्म मनाइने इन्द्र जात्रा पृथक र रमाइलो मानिन्छ । काठमाडौंको प्रतीक (रिफेल्क्सन अफ काठमाडौं) का रुपमा जात्रा गर्न लागिएको छ ।

नेपालको संस्कृतिबाट सिकेर लन्डनमा आफ्नै शैलीको फयूजनसहित जात्रा गरिने आयोजकले जनाएका छन् ।

पासा पुच गुथि लन्डन च्याप्टर र ओजेश सिंहले जात्राको संयोजन गरेका छन् । जात्रा व्यापक बनाउन गुथिका सबै ६ वटा यूके च्याप्टरको पनि आआफ्नो तर्फबाट योगदान हुनेछ ।

पत्रकार सम्मेलनमा पासा पुचः गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशील प्रजापतिले बेलायतमै मौलिक जात्राको रुपमा विकास गर्ने उद्देश्यसहित जात्रा गर्न लागिएको जनाए ।

उनले सन् २००० मा गुथि स्थापना भएपछि यूकेमा म्ह पूजा, गुथि भ्वय, गुथि पूजा, वृहत नेवा मुना, योमरी पुन्ही, गुथि सेमिनार, लन्डन खः जात्रा, लन्डन बिस्का जात्रा लगायत विभिन्न सांस्कृतिक गतिविधि भइरहंदा पहिलो पटक लन्डन इन्द्र जात्रा थपिएको जनाए ।

बेलायतमै जन्मे हुर्किएका दोश्रो पुस्तालाई नेवा कला संस्कृति र मातृभूमि नेपालसंग जोड्ने माध्यमका रुपमा यसलाई लिइएको पनि प्रजापतिले जनाए ।

प्रजापतिले डे आउटका रुपमा लिएर नेवा समुदायमात्र नभइ बेलायतस्थित गैर नेवारहरुलाई पनि सहभागी भइदिन अपिल गरे ।

बेलायतमा च्यारिटीमा दर्ता भएको गुथि स्थापनाको २५ औं वर्ष गांठमा इतिहास रच्न लागिएको र यो दोश्रो पुस्तालाई पनि कला संस्कृति अनुशरण गर्न कोशेढुंगा हुने प्रजापतिले बताए ।

इन्द्र जात्रामा कुमारी, भैरव र गणेशको रथ तानिने एवं ति तीन रथहरुमा जिवित देवी कुमारी र देवताहरु गणेश र भैरवलाई पनि विधिपूर्वक प्रतिस्थापन गरि परिक्रमा गरिने आयोजकको तयारी छ ।

रथ बनाउने र तान्ने शैली नेपालकै जस्तो हुनेछ । विगत दुईमहिनादेखि रथहरु बनाउने काम भइरहेको छ । लाखे महोत्सव पनि गरिने आयोजकले जनाएका छन् जसमा विनोद चिपालुले विशेष लाखे प्रदर्शन गर्ने योजना छ । त्यस अवसरमा हाथु द्योः बाट रक्सीसहित समेंबजि डों (प्रसाद) बांड्ने कार्यक्रम पनि छ ।

सो अवसरमा धिमे, ढा, खिं, बांसुरी लगायत कयौं बाजा पनि प्रस्तुत गरिनेछ । गुथिका विभिन्न च्याप्टरमा विगत ९ महिनादेखि धिमे बाजा प्रशिक्षण भइरहेको छ ।

कयौं लाखे नाच, कुमारी नाच, मन्जुश्री नाच, भैरवगण नाच, हुलां प्याखः, धिमे प्याखः आदि प्रस्तुत गरिने आयोजकले जनाएका छन् । सो अवसरमा व्यापारिक र खानाका करिब दुई दर्जन स्टल, फेस पेन्टिंग, च्यारिटीका स्टल आदि पनि रहने आयोजकले जनाए । जात्रामा करिब ४ हजार दर्शक सहभागी हुने अपेक्षा छ ।

जात्रा संयोजक एवं गुथिका पूर्व अध्यक्ष तथा हाल संरक्षक ओजेश सिंहले २५ औं वार्षिकोत्सवको अवसरमा लन्डन इन्द्र जात्रा गर्न लागिएको बताए ।

ब्रिटिश नेपाली समुदायले पनि इन्द्र जात्रा मनाउने अवसर प्रदान गर्न कार्यक्रम गरिएको सिंहको भनाइ थियो ।
गुथि स्थापनाको २५ औं वर्ष गांठ मनाउन हालसम्मका गतिविधि समेटिएको फोटो प्रदर्शनी समेत गरिने सिंहले बताए । नेपालको जात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने आफूहरुको प्रयासमा साथ दिन पनि उनले आग्रह गरे ।

उक्त जात्रा हेर्न नेपाल, युरोप, अमेरिकाबाट पनि अतिथीहरु आउने जनाइएको छ ।

नेवा कला संस्कृति, परम्परा सिकुन् भनेर जात्रामा दोश्रो पुस्तालाई नै बढी सहभागी गराउने सोच आयोजकको छ । नेपालमा हेर्न नभ्याइएका कला संस्कृति समेत यहां हेर्न पाइने गुथिको दावी छ ।

लन्डन इन्द्र जात्राले एउटा जात जातीको मात्र होइन, साउथ इष्ट एसिया क्षेत्रकै प्रतिनिधित्व गर्ने उल्लेख गराउंदै सिंहले गैर नेपालीलाई पनि नेपाल चिनाउने अवसरका रुपमा जात्रालाई लिइएको बताए ।

गुथिको बोर्ड अफ ट्रष्टी महासचिव प्रजेश श्रेष्ठले अनलाइन र प्रत्यक्ष टिकट किन्न सकिने जनाउंदै १० पाउण्ड नर्मल भएपनि जुन महिनाभित्र एडभान्समा काटे जम्मा ५ पाउण्डमा पाइने बताए । स्पोन्सर गर्न चाहनेका लागि ७ वटा क्याटेगोरिज राखिएको समेत श्रेष्ठले जनाए ।

स्वागत मन्तव्य दिंदै पासा पुचः गुथि लन्डनकी अध्यक्ष रुकमणी मानन्धरले आफू पनि ३७ वर्षपछि इन्द्र जात्रा हेर्न र आफ्नै नेतृत्व हुंदा आयोजना गर्न पाउंदा निकै उत्साहित र हर्षित भएको बताउंदै सबैलाई जात्रामा आएर रमाइलो गर्न अनुरोध गरिन् । विगत ६ वर्षदेखि अध्यक्षको जिम्मेवारी र १२ वर्षदेखि कार्यकारी भूमिका सम्हालिरहेकी मानन्धरले गुथि स्थापना भएदेखि नै आफू संस्थामा आवद्ध भएर नेवा कला संस्कृति जगेर्नामा निरन्तर लागिरहेको पनि बताइन् ।

मिडिया कोअर्डिनेटर एवं लन्डन च्याप्टरकी कल्चरल सेक्रेटरी आस्था जोशी बटाजुले नेपाली कला संस्कृति झल्काउने आफूहरुको प्रयास भएको बताउंदै यसलाई नेवारहरुको मात्र जात्राका रुपमा नलिन अनुरोध गरिन् ।

सो अवसरमा साउथ इष्ट लन्डन च्याप्टरका अध्यक्ष सुरोज मास्के र बोर्ड अफ ट्रष्टी सदस्य सुमन महर्जनले जात्रामा सबै नेपालीलाई आइदिन आग्रह गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू