शुक्रबार, असार १३, २०८२
17:53 | २२:३८

नेपाली भिलेज यूकेको शेयर खरिद जुलाई १ देखि खुला

नेपाली लिङ्क जुन २७, २०२५

एडिनबरा (स्कटल्याण्ड)- नेपाली भिलेज यूकेको शेयर जुलाई १ तारिखदेखि सार्वजनिक खरिदका लागि खुला गरिने भएको छ। 

स्कटल्याण्डको राजधानी एडिनबरामा आयोजित पहिलो नेपाली मेला २०२५ बाट शेयर क्याम्पेन औपचारिक रूपमा शुभारम्भ गरिएको हो । 

नेपाली भिलेज यूकेका प्रमुख निर्देशक मेजर खुशीमान गुरुङ (एम.भी.ओ.) को नेतृत्वमा शेयर क्याम्पेन घोषणा गरिएको हो। 

नेपाली भिलेज यूकेका अनुसार, शेयर मूल्य £५,५०० निर्धारण गरिएको छ ।  

आगामी दिनमा स्कटल्याण्डका विभिन्न मुख्य शहरमा सम्भावित शेयर होल्डरहरूलाई निमन्त्रणा गरी विस्तृत जानकारीमूलक कार्यक्रम (ब्रिफिङ) गरिने जानकारी नेपाली भिलेज यूकेले दिएको छ।

मेलामा सयौं नेपाली तथा स्थानीय नागरिकले नेपाली भिलेज परियोजना सम्बन्धी जानकारी लिंदै परियोजनाको उद्देश्यप्रति चासो र चाहना व्यक्त गरेका थिए।

स्कटल्याण्डको भूगोल तथा नेपाल र नेपाली संस्कृतिसँग मेल खाने यो परियोजनाले वेल्समा एक नेपाली शैलीको आवासीय र सांस्कृतिक केन्द्र निर्माण गर्ने लक्ष्य लिएको छ।

उक्त मेला नेपाली राजदूतावास लन्डन र एनआरएनए स्कटल्याण्ड सहितका दुई दर्जन संघसंस्थाको संयुक्त आयोजनामा भएको थियो, जसमा तीन हजार बढी नेपालीको उत्साहजनक उपस्थिति थियो।

कार्यक्रममा नेपाली राजदूत चन्द्र कुमार घिमिरे, उपनियोग प्रमुख विपिन दुवाडी लगायत राजदूतावासका अन्य प्रतिनिधिहरुको उपस्थिति थियो।

सोही अवसरमा नेपाली राजदूतावासले पासपोर्ट नवीकरण तथा अन्य कन्सुलर सेवा पनि प्रदान गरेको थियो।

मेला बिहान ११ बजे नेपाली परम्परागत नौमती बाजा र स्कटिस पाइपरको स्वागत संगीतसहित विभिन्न धार्मिक र सांस्कृतिक झाँकी प्रदर्शन गर्दै शुरुआत गरिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू