एनआरएनए यूकेमा ३ हजार ५ सय १६ जनाको सदस्यता आवेदन



लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को सदस्यताका लागि जम्मा ३ हजार ५ सय १६ जनाले आवेदन दिएका छन्।
नयाँ सदस्यता तथा नवीकरणका लागि निर्धारित बुधबार २५ जुन राती २३ः५९ बजेको समयसिमाभित्र ती आवेदनहरु प्राप्त भएको एनआरएनए यूकेले जनाएको छ।
प्राप्त आवेदनहरुमध्ये जम्मा १ हजार ९ सय २७ सदस्यता स्वीकृत भइसकेका छन् भने बाँकी आवेदन १ हजार ५ सय ८९ भेरिफिकेसनको प्रक्रियामा छन्।
त्यस्तै, एनआरएनए एपमा फारम भर्न शुरु गरेका तर पेश गर्न बाँकी रहेका थप ७ सय ३० आवेदन ड्राफ्टमा छन्। सदस्यता आवेदनको समयसीमा समाप्त हुनुअघि ड्राफ्टमा बसेका ती आवेदनहरु पूरा गर्न शुक्रबार २७ जुन मध्यरातसम्मको अतिरिक्त समय उपलब्ध गराइएको छ।
एनआरएनए यूकेले सदस्यता दर्ता तथा नवीकरण प्रक्रियामा सक्रिय सहभागिताका लागि सबैप्रति आभार व्यक्त गरेको छ ।
एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, महासचिव गोविन्द खरेल र प्रमुख निर्वाचन आयुक्त रामशरण सिम्खडाद्धारा जारी संयुक्त सूचनामा समयसीमा पछि नयाँ दर्ता भएका सदस्यता निवेदनहरू निर्वाचन प्रयोजनका लागि मान्य नहुने प्रष्ट्याइएको छ ।
निर्धारित डेडलाइनभित्र प्राप्त भइसकेका तर स्वीकृत नभइसकेका अथवा स्वीकृत प्रक्रियाका लागि आवश्यक विवरण मागिएका आवेदनहरु स्वीकृत प्रक्रियामा रहेको पनि जनाइएको छ ।
२५ जुन २०२५, २३ः५९ बजे अघि नै आफ्नो दर्ता प्रक्रिया सुरु गरिसकेका तर फारम पेस गर्न बाँकी हुनेहरुका लागि आवेदन फारम पूरा गर्न ४८ घण्टा समय थप गरिएको छ ।
यद्यपि, यो समयसीमाभित्र फारम पेस गर्दा तिर्नुपर्ने शुल्क, नागरिकता वा पासपोर्टजस्ता पहिचान र बसोबास पुष्टि हुने प्रमाण भने अनिवार्य रुपमा समावेश गर्नुपर्नेछ ।
संघको मतदान अनलाइनमार्फत २६ जुलाई र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा हुने तय भएको छ ।
एनआरएनए यूकेमा दुई वर्षअघि सम्पन्न अघिल्लो अधिवेशनमा ४१ सय बढी सदस्य बनेका थिए। यसपटक अहिले ड्राफ्टमा रहेकामध्ये धेरै आवेदन पूरा भएमा सदस्यता संख्या दुई वर्षअघिकै हाराहारीमा पुग्ने देखिएको छ।
केही वर्ष अघिसम्म उम्मेदवारहरुले शुल्क समेत बुझाइदिएर फारम भरिदिने र बोरामा बोकेर सदस्यता आवेदन बुझाउने ट्रेण्ड रहेकोमा यसपटक स्वस्फूर्त रुपमै यो संख्याका सदस्यता आवेदन प्राप्त हुनुलाई एनआरएनए यूकेले उपलब्धि भनेको छ।