शनिबार, ३१ जनवरी, २०२६
17:53 | २३:३८

बेलायतमा ४ वर्ष: सपना र संघर्षको यात्रामा म

नेपाली लिङ्क जनवरी ३१, २०२६

त्रिभुवन विमानस्थलको त्यो अन्तिम घडी – आमाको आँखामा लुकेको आँसु, बाबाको शब्दविहीन हौसला, र मेरो मनमा अनगिन्ती प्रश्नहरू थिए

आजको दिन मेरो जीवनको क्यालेन्डरमा सामान्य मिति मात्र होइन। आज त्यही दिन हो – चार वर्षअघि मैले नेपाल छोडेको दिन। समय हेर्दा चार वर्ष भनिन्छ, तर मनले गनेको भए यो चार वर्ष होइन, चार युग जस्तै लाग्छ। नेपाल छोड्ने दिन म निकै शान्त देखिन्थेँ, तर भित्रभित्रै आँधी चलिरहेको थियो। त्रिभुवन विमानस्थलको त्यो अन्तिम घडी – आमाको आँखामा लुकेको आँसु, बाबाको शब्दविहीन हौसला, र मेरो मनमा अनगिन्ती प्रश्नहरू। म खुशी थिएँ कि डराएको थिएँ, म आफैँलाई थाहा थिएन। आशा थियो, सपना थियो, तर योजना थिएन । भोलि के हुन्छ भन्ने प्रश्नभन्दा पनि ‘म आफैँ कस्तो मान्छे बन्छु?’ भन्ने डरले मन भारी थियो। जहाज उड्दा मैले नेपाललाई हेरेँ – पहाड, आकाश, सम्झना, मानिसहरू… त्यो क्षण मैले महसुस गरेँः देश छोड्नु भनेको ठाउँ छोड्नु होइन, आफूभित्रको एक हिस्सा त्यहीँ छोड्नु रहेछ।

बेलायतको प्रेस्टन आइपुग्दा सबै कुरा नयाँ थियो – हावा फरक, मानिस फरक, बोली फरक, सोच फरक । यहाँ कसैलाई मेरो नाम थाहा थिएन, मेरो विगत थाहा थिएन, मेरो संघर्ष त झन् कसैले देखेको पनि थिएन। नेपालमा ‘कोही’ थिएँ, यहाँ आएपछि ‘कोही नभएको’ अनुभव भयो। ब्रिटिश समाज सभ्य छ, अनुशासित छ, तर त्यो सभ्यताभित्रको दूरी सुरुमा निकै चिसो लाग्यो। मान्छेहरू मुस्कुराउँछन्, तर मनसम्म पुग्न समय लाग्छ। शाकाहारी भएर यहाँ बाँच्नु एउटा छुट्टै संघर्ष बन्यो। खान पाइन्छ, तर मनले खाने खाना पाउन गाह्रो। शरीरभन्दा पनि पेटले धेरै कुरा सहन सकेन – ढाड दुखाइ, एसिडिटी, पेट दुखाइ, निद्राको समस्या । रातहरू लामो भए, निद्रा छोटो भयो, मन झन् भारी हुँदै गयो। कहिलेकाहीँ यस्तो लाग्थ्यो – मेरो शरीर यहाँ छ, तर आत्मा नेपालमै अल्झिएको छ।

यी चार वर्षमा मैले १० वटा भन्दा बढी काम र जागिर छोडें। कहिले कामले छोड्यो, कहिले मैले काम छोडेँ। केही कामले मलाई जीवन सिकाए, केहीले आत्मसम्मान, केहीले सहनशीलता, र केहीले मलाई आफूलाई नै चिन्न सिकाए। सबै अनुभव सुखद थिएनन्। केही त नसोचेका परिणाम पनि लिएर आए – विश्वविद्यालयसँग जोडिएका उतारचढाव, अपेक्षा गरेजस्तो नहुँदा मन भाँचिने क्षणहरू। तर ती सबैले मलाई कमजोर होइन, थोरै – थोरै बलियो बनाउँदै लगे। जब म बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल ल्यान्कासायर विश्वविद्यालयबाट दिक्षित भएँ, त्यो क्षण कुनै ठूलो उत्सवजस्तो थिएन। तर त्यो आत्मासँगको शान्त जित थियो। मलाई याद छ, त्यो डिग्री हातमा लिएर मैले सोचेँ – ‘यो कागजभन्दा ठूलो कुरा मैले यहाँ बाँचेर देखेको छु।’

चार वर्षमा धेरै पटक हारेँ जस्तो लाग्यो, धेरै पटक फेरि उठेँ। अझै पनि संघर्ष सकिएको छैन। जीवन अझै परीक्षा लिइरहेको छ। तर एउटा कुरा पक्का छ – म अब अन्धकारसँग डराउँदिन। किनकि म त्यही अन्धकारभित्र हिँडेर यहाँसम्म आइपुगेको छु। सन् २०२२ मा जब म बेलायत आएँ, मेरो हातमा सपना त थियो, तर दिशा थिएन। आज, बेलायतको बसाई पाँचौँ वर्षमा प्रवेश गर्दै गर्दा, मसँग योजना छ। स्पष्ट छैन सबै कुरा, तर सम्भावनाले उज्यालो देखाइरहेको छ। केही कुरा चाँडै हुनेछन् र ती पूरा हुनेछन् भन्ने विश्वास आज बलियो छ। यी चार वर्षमा मलाई बिना प्रश्न, बिना सर्त, सधैँ साथ दिनुहुने मेरा आमाबुबा – तपाईंहरूको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। मेरो नजिकका साथीहरू, मेरो मौन पीडा बुझ्ने समर्थकहरू – जब म आफैँ थाक्थेँ, तपाईंहरू उभिनु भयो। बेलायतले मलाई धेरै कुरा दियो – स्मृति, चोट, पाठ, सपना। सबै राम्रो थिएन,

तर सबै आवश्यक थिए। आज बेलायतको बसाई चार वर्ष पूरा हुँदा म यत्ति मात्र भन्छु – यो यात्रा सजिलो थिएन, तर यसले मलाई साँचो अर्थमा ‘म’ बनायो।

यी चार वर्षलाई पछाडि फर्केर हेर्दा कहिलेकाहीँ यस्तो लाग्छ – बेलायतमा १० वर्ष बिताएका मानिसहरूले पनि सायद यति धेरै अनुभूति, यति धेरै उतार – चढाव, यति गहिरो जीवन नछोएका होलान्। यी चार वर्षमा मैले केवल समय बिताएको छैन, मैले जीवन जिएको छु – कहिलेकाहीँ आँसुमा भिजेको, कहिलेकाहीँ मौनमा हराएको, र कहिलेकाहीँ अकल्पनीय खुशीले भरिएको। केही सुखका यस्ता क्षणहरू पनि आए, जुन क्षण पाउन १० वर्ष बेलायत बसेर पनि सबैले सक्दैनन् होला। केही अनुभवहरू यस्ता भए, जुन पैसाले होइन, भाग्यले मात्र दिन्छ। सबैभन्दा ठूलो कमाइ भनेको मैले यहाँ मान्छेहरू कमाएँ। त्यस्ता आत्मीय मनहरू, त्यस्ता साँचो साथहरू,
जसलाई कमाउन चार वर्ष त के, सायद १० वर्षको निरन्तर मिहेनत पनि कम पथ्र्यो होला।

त्यही कारण कहिलेकाहीँ मलाई साँच्चै लाग्छ – यो संसारमा म जतिको भाग्यमानी मान्छे सायद अरू कोही छैन। तर जीवन सधैँ एउटै रंगको हुँदैन रहेछ। केही पीडाहरू पनि छन्, यति गहिरा, यति मौन, जसले गर्दा कहिलेकाहीँ म आफूलाई संसारकै सबैभन्दा भाग्यमानी मान्छे हुँ भन्ने कुरा नै बिर्सिन्छु। सायद यही नै जीवन हो – सुख र पीडाको एउटै डोरीमा बाँधिएको यात्रा। र म, यी सबैका बीच पनि अझै हिँडिरहेकै छु… आशा बोकेर, मौन सम्हालेर, आफ्नै कथाको अन्तिम लाइन लेख्ने विश्वाससहित…।

– सुशिल गौतम (हाल बेलायत)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू