आइतबार, ७ डिसेम्बर, २०२५
07:13 | १२:५८

नेप्लिज् अलाएन्स ग्रीनवीच एण्ड बेक्सली गठन, नेतृत्वमा नरेन्द्र कंडेल

नेपाली लिङ्क अक्टोबर ६, २०२५

लन्डन- लन्डनका ग्रीनवीच र बेक्सली बरोमा बस्ने नेपालीहरुको प्रतिनिधि संस्था ‘नेप्लिज् अलाएन्स ग्रीनवीच एण्ड बेक्सली’ गठन भएको छ।

आइतबार वुल्लीचस्थित द वुलविच कलेजमा सम्पन्न साधारणसभाले स्थानीय व्यवसायी नरेन्द्र कंडेलको नेतृत्वमा संस्थाको पहिलो कार्यसमिति गठन गरिएको हो।

कार्यसमितिमा टम अधिकारी र तोया रिजाल उपाध्यक्ष, पंकज बजगाईं महासचिव, कल्पना त्रिपाठी कोषाध्यक्ष, हरि कुमार मल्ल गोर्खा संयोजक, लिलादेवी गुरुङ महिला संयोजक तथा भोजराज गुरुङ, मोहन घिमिरे, कमल उपाध्याय र असीम गुरुङ सदस्य छन्।

नवगठित संस्थाका अध्यक्ष नरेन्द्र कँडेलले समुदायबीच एकता, सहकार्य र सामाजिक सशक्तिकरणलाई प्राथमिकतामा राख्दै संस्थाको आगामी कार्यदिशा निर्धारण गरिने बताए । उनले स्थानीय बरोहरु तथा राजनीतिक स्तरमा नेपाली समुदायको प्रभावकारी प्रतिनिधित्व गर्नु संस्था स्थापनाको मूल उद्धेश्य रहेको पनि जनाए।

संस्थालाई समग्र यूकेभरका नेपालीहरूको प्रतिनिधित्व गर्ने सशक्त संरचना बनाउने गरी अगाडि बढाउने प्रतिवद्धता अध्यक्ष कंडेलले व्यक्त गरे।

नरेन्द्र कँडेलले अध्यक्षता गरेको साधारणसभा सञ्चालन पंकज बजगाईंले गरेका थिए। कार्यक्रमको सुरुमा टम अधिकारीले स्वागत मन्तव्य दिँदै संस्थाको उद्देश्य, आवश्यकता र सामुदायिक एकताको महत्वबारे प्रकाश पारेका थिए।

उक्त अवसरमा पशुपतिनाथ मन्दिर लन्डनका अध्यक्ष रोमनाथ पाण्डे, ट्रष्टी संयोजक दाशु पाण्डे, संस्थापक अध्यक्ष होम शर्मा, पूर्व अध्यक्ष गोपाल अर्याल, ट्रष्टी मिहिर न्यौपाने, ओएनएफ यूकेकी उपाध्यक्ष सुदेशा बजगाईं, बेक्सली नेपाली समाजका महासचिव उमेश गौतम, मगर संघका अध्यक्ष खड्क पुन, सामाजिक कार्यकर्ता नवीन सापकोटा, मिडियाकर्मी प्रकाश कँडेलसहित समुदायका प्रतिनिधिहरुको सहभागिता थियो।

कार्यक्रमका सहभागीहरूले संस्थाको भावी कार्यदिशा र योजनाहरुबारे आफ्ना धारणा र सुझावहरू प्रस्तुत गरेका थिए।

उनीहरूले नवनिर्वाचित टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाको निरन्तर सक्रियता, सामुदायिक सेवा र एकताको अभियानलाई अझ सुदृढ रूपमा अघि बढाउने अपेक्षा व्यक्त गरे।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू