इंग्ल्याण्डमा सन् २०२७ देखि अनलाइन उपचार सेवा



लन्डन– बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) थप प्रभावकारी बनाउन सन् २०२७ देखि अनलाइन सेवा शुरु गरिने भएको छ ।
बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले एनएचएस सेवा अनलाइनमार्फत गर्ने घोषणा गरेका हुन्। यस योजना लागू भएपछि बिरामीले अस्पताल धाउनुको सट्टा आफ्नो स्वास्थ्य जाँच, परामर्श तथा फलो–अप जस्ता काम अनलाइनमार्फत गर्न सक्नेछन्।
‘एनएचएस अनलाइन’ नाम दिइएको यो सेवामा आफ्नै चिकित्सकहरूको टोली रहनेछ जसले अनलाइन सेवा प्राप्त गर्न चाहने बिरामीहरूको उपचारमा सहयोग पुरयाउँछ। यसबाट लामो प्रतीक्षा गर्न नपर्ने र स्वास्थ्य सेवामा आधुनिकीकरण आउने सरकारले अपेक्षा गरेको छ।
स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले भने, “यो एनएचएसलाई समयअनुसार अगाडि बढाउने, आधुनिक बनाउने योजना हो ।”
यसअघि केही अस्पताल जस्तै युनिभर्सिटी अस्पताल साउथह्याम्पटन र मुरफिल्ड्समा यस प्रकारको भर्चुअल सेवा सफल भएको छ ।
यस सेवामार्फत बिरामीहरूले स्थानीय कम्युनिटी डायग्नोस्टिक सेन्टरमा स्क्यान, परीक्षण वा आवश्यक प्रक्रिया बुक गर्न सक्नेछन्।
सन् २०२७ बाट चरणबद्ध रूपमा सुरु हुने यो अनलाइन हस्पिटल सेवा विशेषगरी आँखा रोग, स्त्रीरोग र पाचनसम्बन्धी समस्यामा बढी केन्द्रित हुने अपेक्षा गरिएको छ । तर, कुन बिरामीलाई अनलाइनमार्फत उपचार उपयुक्त हुन्छ भन्ने छुट्याउन भने चुनौती रहने एनएचएस अधिकारीहरुको चिन्ता छ।
एनएचएस इङ्ग्ल्याण्डले अनलाइन सेवा सुरक्षित मानिएका क्षेत्रहरूमा मात्र लागू हुने स्पष्ट पारेको छ। एनएचएस एपसमार्फत उपलब्ध हुने यस सुविधाले पहिलो तीन वर्षमै करिब ८.५ मिलियन अपोइन्टमेन्ट्स तथा परीक्षण गर्ने लक्ष्य राखिएको छ, जुन औसत एनएचएस ट्रष्टको तुलनामा चार गुणा बढी हो। यसबाट प्रत्यक्ष रुपमा अस्पताल जान चाहने बिरामीका लागि पनि थप सहज हुने अपेक्षा छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५