बुधबार, ४ फ्रेब्रवरी, २०२६
14:36 | २०:२१

बेलायतमा वर्ल्ड कराते च्याम्पियनसीपमा बाबु छोराले नै जिते मेडल

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२५

लन्डन । बेलायतमा आयोजित वर्ल्ड कराते च्याम्पियनसीप २०२५ मा नेपाली बाबु छोराले नै मेडल जितेका छन् ।

वर्ल्ड युनियन अफ मार्सल आर्टस फेडेरेसनले १९ देखि २१ सेप्टेम्बरसम्म के टु एरिना क्रलीमा आयोजना गरेको प्रतियोगितामा १२ वर्षीय एड्रियन क्षेत्री र उनका पिता ज्ञानेन्द्र क्षेत्रीले मेडल जितेका हुन् ।

एड्रियनले अन्डर १५ क्याटेगोरिजमा गोल्ड मेडल जिते भने उनका बुबा ज्ञानेन्द्रले सोही च्याम्पियनसीपमा अण्डर ६० मा सिल्भर मेडल जिते ।

लन्डन क्वीन्सबरीस्थित क्यानन हाइस्कुलमा कक्षा ८ मा अध्ययनरत एड्रियनले यसअघि अण्डर १० र ०२४ को ईयू च्याम्पियनसीप अण्डर १५ मा पनि मेडल जितेका थिए ।

‘सफलतामा खुशी त पक्कै छौं, यसले अरुलाई पनि प्रेरित गर्न सक्छ भन्ने विश्वास छ’, बाबुले भने ।

लन्डन बार्नेटमा जन्मिएका एड्रियन ५ वर्षको छंदा सन् २०१७ देखि यस खेलमा आवद्ध भएका थिए । एड्रियनले सोमबार, मंगलबार र बुधबार पढाइपछि ६ देखि ८ बजे सांझ कराते प्रशिक्षण लिंदै आएका छन् ।


उता, ‘ट्रान्सपोर्ट फर लन्डन’ मा विगत २२ वर्षदेखि कार्यरत वरिष्ठ इन्जिनियर क्षेत्रीले यसअघि अण्डर ५० मा गोल्ड मेडल जितेका थिए ।

७ डान ब्ल्याक बेल्टसंग प्रतिष्पर्धा गर्नु परेका कारण यसपटक सिल्भर मेडलमा चित्त बुझाउनु परेको क्षेत्रीले जनाए ।

छोरालाई सिकाउन लैजांदा आफू पनि खेल्न थालेको उनले बताए । ‘एकदिन छोराले मलाई ड्याडी मेरो ट्रेनिङभर कुरेर बस्नु हुन्छ । बरु हजुरपनि सिक्नु न भन्यो’, उनले सुनाए, ‘मेरो पनि हुन्छ र भनेको छोराले कोचलाई बोलाइसकेछ । कोचले ओके भनेपछि यता लागें ।’

बाबु छोराले फेमिली कातामा समेत प्रतिष्पर्धा गरेर विभिन्न मेडल जितेका छन् ।

काठमाडौं गोकर्णका स्थायी बासिन्दा क्षेत्री क्वीन्सबरी बस्छन् । खेल खेल्न उमेरले नछेक्ने उनले बताए । विरामी भएर औषधि खानुभन्दा मार्सल आर्ट राम्रो नि, उनले भने, यो त घरमा पनि प्राक्टिस गर्न सकिन्छ । स्वस्थ्य रहन पनि खेल आवश्यक छ ।

इन्जिनियर क्षेत्री गीतकार पनि हुन् । उनको लेखन तथा गायक गायिका तिलक बस्नेत र बन्दना पाण्डेले गाएको ‘पैसा पैसा’ भन्ने गीत एवं म्यूजिक भिडियो गत वर्ष निकै लोकप्रिय भएको थियो । यसबाहेक माया र प्रेमलाई संस्कार र प्रकृतिसंग संयोजन गरिएको उनको ‘पीर नगर निरमाया’ बोलको अर्को गीतको भिडियो पनि यूट्युबमा लाखौंले हेरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू