तमुधिं यूकेमा १६औं नेपाली मेला समीक्षा, मनाइयो चन्द्र-हर्क स्मृति दिवस


लन्डन- तमुधिं यूकेले गत महिना आयोजना गरेको नेपाली मेला ऐतिहासिक रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ।
शनिबार अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा तमुधिं भवन मिचेटमा सम्पन्न समीक्षा बैठकले मेला ऐतिहासिक र सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ। बैठकमा आगामी संस्करणहरु झन् बृहद र व्यवस्थित गर्नेतर्फ ध्यान केन्द्रित गर्ने प्रतिवद्धता गरिएको सचिव विमल गुरुङले नेपालीलिंकलाई जानकारी दिए।
तमुधिं यूकेले गत २४ अगस्टमा लन्डनस्थित केम्पर्टन पार्क रेस कोर्समा आयोजना गरेको नेपाली मेलाको १६औं संस्करण हालसम्मकै व्यापक सहभागितामा भव्य बनेको थियो। उक्त मेलाले नेपाली संस्कृति, परम्परा र समुदायको एकताको सन्देशलाई बेलायतमा प्रवर्द्धन गरेको थियो।
समीक्षा बैठकमा तमुधिं यूकेका उपाध्यक्ष तथा नेपाली मेला आयोजक समितिका संयोजक कमल गुरुङले १६औं नेपाली मेलाको बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए। मेलाको लागि भएका तयारी, चुनौतीहरू र उपलब्धिहरूबारे बोल्दै मेला संयोजक गुरुङले सबैको सद्भाव, सहयोग र सहकार्यले मेला सफल भएको बताएका थिए।
सोही अवसरमा मेलालाई सफलतापूर्वक संयोजन गरेकोमा उपाध्यक्ष कमल गुरुङलाई फेटा लगाएर सम्मान गरिएको थियो । मेला स्मरणीय र सफल बनाएकोमा उनलाई बधाई तथा धन्यवाद दिइयो।
तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले मेला भव्यताका साथ सम्पन्न गर्न अहोरात्र खटिने संयोजकसहित सिंगो आयोजक समिति, कार्यसमिति, सल्लाहकारलगायत सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । अहिले देखिएका केही स-साना कमीकमजोरी समेत आगामी संस्करणहरुमा हुन नदिने अठोट व्यक्त गर्दै उनले त्यसतर्फ सचेत बन्नुपर्ने आवश्यकता औंल्याए । उक्त कार्यक्रम सञ्चालनमहासचिव डा. विशाल गुरुङले गरेका थिए।
चन्द्र–हर्क स्मृति दिवस

यसैबीच, कार्यक्रमको दोस्रो चरणमा तमुधिं यूकेले हरेक वर्ष मनाउँदै आएको डा. चन्द्र गुरुङ र डा. हर्क गुरुङ स्मृति दिवस पनि सोही अवसरमा मनाइएको छ।
सो अवसरमा नेपालको सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुरयाएका डा. चन्द्र गुरुङ र डा. हर्क गुरुङप्रति सम्मान व्यक्त गरिएको थियो। कार्यक्रममा डा. हर्क गुरुङका नजिकका आफन्त लोक गुरुङ र डा.चन्द्र गुरुङका सिक्लेसका गाउँले साथीहरू उपस्थित भएका थिए।
यसैगरी, हङकङबाट आएकी गुरुङ फिल्म एसोसिएसनका अध्यक्ष माया गुरुङ र चलचित्र सुटिङको सिलसिलामा नेपालबाट बेलायत आएका थियटर अभिनेता सुरज तमुलाई पनि विशेष सम्मान गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणको रूपमा अभिनेता सुरज तमुले डा. चन्द्र गुरुङ र डा.हर्क गुरुङको सम्मानमा कविता वाचन गरेका थिए। उनको भावपूर्ण र मार्मिक प्रस्तुतिले उपस्थित सबैलाई भावुक बनाएको थियो।
सो अवसरमा संस्थाका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ र उपाध्यक्ष दिलमाया गुरुङ, आमा समूह प्रमुख कमलादेवी गुरुङ, स.स्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु मेजर रिटायर्ड डमर घले एमबिई, ज्ञाम गुरुङ, हरि गुरुङ, ट्रष्टी सूर्य गुरुङलगायतको पनि उपस्थिति थियो।
तस्विर: मिलन तमु

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



