साइबर आक्रमणका कारण लण्डन हिथ्रो विमानस्थल अस्तव्यस्त



लन्डन – लन्डनको हिथ्रो विमानस्थल लगायत युरोपेली विमानस्थलहरू साइबर आक्रमणबाट प्रभावित भएका छन् । स्वचालित चेक-इन प्रणालीले काम नगर्दा ब्रसेल्स र बर्लिनका विमानस्थलहरू पनि प्रभावित भएका छन्। यसले गर्दा यात्रुहरू म्यानुअल चेक-इन गर्न बाध्य भएका छन् ।
शुक्रबार राती भएको साइबर आक्रमणका कारण कोलिन्स एरोस्पेस कम्पनीले वितरण गर्दै आएको सफ्टवेयर प्रणाली प्रभावित बनेपछि चेक-इन र बोर्डिङमा समस्या उत्पन्न भएको हो। म्यानुअल चेक-इन व्यवस्था गरिएपनि समय बढी लाग्ने भएकाले उडानहरु ढिलाइ हुनुका साथै कतिपय रद्ध गरिएका छन् ।
युरोपको सबैभन्दा व्यस्त विमानस्थल हिथ्रोमा १४० भन्दा बढी उडानहरू ढिला भएका छन्। ब्रसेल्स विमानस्थलमा १० उडान रद्द गरिएका छन् भने १७ उडानहरू एक घण्टा भन्दा बढी ढिला भएका छन्। बर्लिन विमानस्थलमा पनि चेक-इनमा ढिला भएको छ। फ्र्याङ्कफर्ट, जुरिच र पोल्यान्डका विमानस्थलहरू यस आक्रमणबाट प्रभावित भएका छैनन्।
ब्रिटिस एयरवेजले आफ्नो ब्याकअप प्रणाली प्रयोग गर्दै सामान्य रूपमा संचालन जारी राखेको छ भने इजी जेटले आफ्नो उडानहरू सामान्य रहेको र समस्याबाट प्रभावित नहुने बताएको छ। डेल्टा एयरलाइन्सले न्यून प्रभाव र आफूले वैकल्पिक व्यवस्था मिलाएको बताएको छ। मलेसिया एयरलाइन्स, लुफ्थान्सा, टर्किस एयरलाइन्स लगायतका अन्य विमानसेवा पनि प्रभावित भएको बीबीसीले जनाएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५