शुक्रबार, १९ सेप्टेम्बर, २०२५
12:54 | १७:३९

जेनजी आन्दोलनका मृतकप्रति क्षेत्री समाज बेलायतको श्रद्धाञ्जली

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२५

लन्डन । नेपालमा भदौ २३ र २४ गते जेनजी समूहद्वारा आयोजित आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति क्षेत्री समाज बेलायतले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

एक विज्ञप्तिमार्फत समाजले आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवास, सर्वोच्च अदालतलगायतका महत्वपूर्ण सरकारी संरचना तथा भाटभटेनीजस्ता निजी व्यवसायहरूमाथि भएको तोडफोडप्रति दुःख समेत व्यक्त गरेको छ । 

समाजले यस्ता हिंसात्मक गतिविधिले सार्वजनिक सम्पत्तिमा मात्र नभई मुलुकको प्रतिष्ठा र आम नागरिकको जीवनमा समेत नकारात्मक असर पार्ने भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराएको छ ।

समाजले शान्तिपूर्ण, जिम्मेवार र लोकतान्त्रिक तरिकाले आन्दोलन र विशेष प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय एकता, शान्ति, स्थायित्व र समाजको हितलाई सबै पक्षले समयमै अपनाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

क्षेत्री समाज बेलायतले आन्दोलनका क्रममा ६ दर्जनभन्दा बढीले ज्यान गुमाएको घटनाले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको भन्दै मृतक आत्माहरूलाई श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । 

साथै, समाजले वर्तमान अन्तरिम सरकारलाई भविष्यप्रति पूर्ण पारदर्शिता अपनाउँदै व्यवस्थित तरिकाले आगामी निर्वाचनतर्फ अग्रसर गराउन शुभकामना दिंदै न्याय, सत्य र मानवताको पक्षमा निरन्तर ऐक्यबद्ध रहने प्रतिबद्धता जनाएको छ ।

विज्ञप्तिमा समाजका अध्यक्ष क्याप्टेन टेक जीसी र महासचिव मेजर बुद्धि भण्डारीको हस्ताक्षर छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू