मंगलबार, १६ जुन, २०२६
12:56 | १७:४१

जेन जी शहीदको स्मृतिमा लेष्टरमा श्रद्धाञ्जली कार्यक्रम

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२५

लेष्टर-बेलायतको लेष्टर क्षेत्रमा बस्ने नेपालीहरुले नेपालमा हालै जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

श्रृजनशील लेष्टर नेपाल यूकेको आयोजनामा मंगलबार बिहान लेस्टरस्थित एभरेष्ट परिकार रेष्टुरेन्ट प्रांगणमा कार्यक्रम सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष शिव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नेपालीहरु स्वस्फूर्त रुपमा भेला भएर मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनीहरुले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरे।

सहभागीहरूले मृतकहरूको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसहित दीप प्रज्वलन गरेका थिए। साथै, नेपालमा भइरहेको शान्तिपूर्ण प्रदर्शनलाई दमन गर्ने कार्यप्रति गहिरो दुःख प्रकट गर्दै उचित माग सम्बोधनको लागि आव्हान गरे।

सो अवसरमा संस्थापक अध्यक्ष राजु कंडेलले मन्तव्य दिँदै शान्तिपूर्ण आन्दोलनमा सहभागी धेरै युवाहरुको ज्यान जाने गरी भएको घटनाप्रति दुख व्यक्त गरे।

अध्यक्ष शिव पराजुलीले शान्तिपूर्ण आन्दोलनप्रति धरपकड नगर्न र उचित मागहरुको सुनुवाई गर्न नेपाल सरकारलाई आग्रह गरे।

महासचिव वरुण भण्डारीले संचालन गरेको कार्यक्रममा संस्थाका सल्लाहकार, पदाधिकारी, सदस्य एवं स्थानीय नेपालीहरु सहभागी भएका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू