जेन जी प्रदर्शनमा भएको घटनाले एनआरएनए यूके मर्माहत, उचित माग सम्बोधन गर्न आग्रह



लन्डन- नेपालमा जेन जी पुस्ताले आयोजना गरेको स्वस्फूर्त प्रदर्शनका क्रममा भएको दुःखद घटनाप्रति एनआरएनए यूकेले गम्भीर चिन्ता प्रकट गरेको छ।
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव दिवाकर पाण्डेले सोमबार एक वक्तव्य जारी गर्दै सरकारद्वारा अत्यधिक बल प्रयोग हुँदा विद्यालय र कलेजको पोशाकमै सहभागी नागरिकहरूले ज्यान गुमाउनुपरेको घटनाले आफूहरूलाई अत्यन्त मर्माहत बनाएको जनाएका छन्।
वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडितहरूलाई तत्काल राहत र उपचार उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
वक्तव्यमा बेरोजगारी, भ्रष्टाचार र बेथिति देशका मूल समस्या रहेको उल्लेख गर्दै नागरिकहरूले उठाएका शान्तिपूर्ण मागलाई संवेदनशीलताका साथ सम्बोधन गर्न आग्रह गरिएको छ।
लोकतन्त्र र मानव अधिकारको संरक्षण गर्दै गरिएको अहिंसात्मक आन्दोलनप्रति सधैं समर्थन रहने एनआरएनए यूकेले जनाएको छ।
वक्तव्यमा सरकारले मात्र नभइ प्रतिपक्ष, प्रहरी प्रशासन, राज्यका अंगहरू र नागरिक समाजले समेत यो घटनाबाट गम्भीर पाठ लिनुपर्ने आवश्यकता औंल्याइएको छ।
एनआरएनए यूकेले शान्तिपूर्ण आन्दोलनलाई संवादमार्फत समाधान खोज्न आह्वान गर्दै यसलाई बदनाम गर्ने नियतले घुसपैठ गर्ने तत्वहरूबाट सचेत रहन आग्रह गरेको छ। साथै, युवाहरूको स्वस्फूर्त प्रदर्शनलाई कुनै पनि राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न राजनीतिक शक्तिहरूलाई अपिल पनि गरिएको छ।
वक्तव्य:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५