आइतबार, ७ सेप्टेम्बर, २०२५
18:02 | २२:४७

शिव मन्दिर सहयोगार्थ अल्डरसटमा च्यारिटी डिनर, ३९ हजार पाउण्ड प्रतिवद्धता

नेपाली लिङ्क सेप्टेम्बर ७, २०२५

लन्डन । अल्डरसटमा मन्दिर सञ्चालन गरिरहेको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले शनिबार प्रिन्सेस हलमा लाइभ म्यूजिकसहित एक च्यारिटी डिनर गरेको छ ।

बेलायतमा रहेका पुराना कलाकारहरुको सम्मान र मन्दिर सहयोगार्थ च्यारिटी डिनर गरिएको हो ।

कार्यक्रममा बीसीसी यूकेका धर्मगुरुहरुसहित शिव मन्दिरका पण्डितहरु, नेपाली संघसंस्थाका प्रमुख, काउन्सिलरहरु, दाता लगायत करिब ५ सय सहभागी थिए ।

सन् २०१८ डिसेम्बरमा मन्दिर खरिद गरेको सेन्टरले गत वर्ष फेरि लगभग तीन लाख पाउण्डमा मन्दिर जोडिएको छिमेकी घर किनेको छ जहां अहिले पण्डितहरुको निवास छ ।

सोही मन्दिर विस्तारको खर्च जुटाउन आयोजित च्यारिटीबाट करिब २० हजार पाउण्ड वचत गर्ने आशा गरिएको सेन्टरका अध्यक्ष विक्रम भट्टराईले जनाए । अध्यक्ष भट्टराईका अनुसार, ३९ हजार पाउण्ड प्रतिवद्धतामध्ये स्पोन्सर ६ हजार पाउण्ड, भक्तजनहरुबाट ९ हजार पाउण्ड र ५०० जनाको ५० पाउण्डका दरले टिकट विक्री भएको छ ।

कार्यक्रममा अरुण थापाको गीतहरुमा संगीत भरेका संगीतकार विक्रम गुरुङ, दिनेश सुब्बा, नेपथ्यका पूर्व सदस्य रवीन श्रेष्ठ, ८४ वर्षीय वृद्ध गायक बीरबहादुर थापालगायतले लाइभ गीत संगीत प्रस्तुत गरे । ‘तिनै अग्रज कलाकारलाई अवसर र उहांहरुको क्षमतालाई सम्मान गर्नु मन्दिरको दायित्व पनि थियो’, अध्यक्ष भट्टराईले भने ।

अल्डरसटस्थित प्रिन्सेस हलमा नेपाली ब्याण्डहरुको लाइभ म्यूजिक कमै हुने गर्छ ।

मन्दिर स्थापनाकालदेखि अहोरात्र खटिएका र सहयोगीहरुलाई सम्मान

कार्यक्रममा मन्दिर स्थापनाकालदेखि अहोरात्र खटिएका र सहयोगीहरुलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्मानित हुनेमा व्यवसायीहरु रविन्द्रजंग लामिछाने र योगेन्द्र क्षेत्री, संस्थापक अध्यक्ष हरिविभोर कार्की, संस्थापक उपाध्यक्ष शेरबहादुर सुनार, मेजर रि. सूर्यप्रसाद उपाध्याय, क्याप्टेन गोपाल विश्वकर्मा, पूर्व काउन्सिलर जीव बेल्वासे, भारतीयमूलका सहयोगी अनुप बर्मा, डा. कुमार, सुनित जैन, चारजना पूर्व अध्यक्षहरु रोहित गुरुङ, भीम बानिया, बाचस्पति रेग्मी र प्रकाश राउत, अम्बर मल्ल, हरिकुमार श्रेष्ठ, पुरण गिरी, फार्नबोरो साई सेन्टरका केबी गुरुङ (बा साइराम) र हर्कबहादुर गुरुङ छन् ।

साथै, मन्दिरको १६ वर्ष लामो इतिहासलाई दस्तावेजीकरण गर्न ‘शिव दर्शन’ नामक स्मारिका प्रकाशन गरि लोकार्पण गरियो । उक्त स्मारिकाको प्रधानसम्पादक संरक्षक रोहित गुरुङ हुन्।

सेन्टरका अध्यक्ष विक्रम भट्टराईको अध्यक्षतामा भएको उक्त च्यारिटी कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, अल्डरसट क्षेत्रकी सांसद अलेक्स बेकर र मेयर क्यालम स्टेवार्टले मन्तव्य व्यक्त गर्दै सेन्टरले स्थानीय समुदायलाई एउटै मालामा उनेर धार्मिक, सामाजिक तथा परोपकारी कार्य गरेकामा प्रशंसा गरे ।

च्यारिटी डिनरमा विशुद्ध भेजिटेरियन खाना राखिएको थियो जसलाई स्थानीय रेष्टरेन्ट व्यवसायीहरुले प्रायोजन गरेका थिए । फार्नबोरो साई सेन्टरका राजेन्द्र र लक्ष्मी शर्मा, मालिंगो रेष्टुरेन्टका विजय गिरी, दिवाली रेष्टुरेन्टका मनिष खड्का र शिव कंडेल, थकाली कुजिन अल्डरसट, सेफ विनोद बराल, सुष्मा गुरुङ, विमला भट्टराई, सरिता श्रेष्ठ, राममाया श्रेष्ठ, शर्मिला र पहलमान गुरुङ (रेडिङ), यशोदा, सुजिता, रेणु गुरुङ लगायतको सौजन्य थियो ।

शिव मन्दिरमा अहिले पण्डितहरु आचार्यद्धय मधुसुदन सत्याल र राजकुमार धिताल छन् । उनीहरुबाट नियमित पूजाआजा, भजन कीर्तन, धार्मिक कर्मकाण्ड हुने गरेको छ । सेन्टरले हरेक नेपाली चाडपर्व पनि मनाउंदै आएको छ ।

तस्विर- एसके गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू