यूकेभर फैलिंदै झण्डा अभियान- राष्ट्रप्रेम कि घृणा ?



लन्डन- बेलायतका विभिन्न शहरमा आप्रवासी विरोधी प्रदर्शनहरु बढिरहेका बेला राष्ट्रिय झण्डाहरु फहराउने एउटा नयाँ ‘ट्रेन्ड’ पनि शुरु भएको छ।
इंग्ल्यान्डको सेन्ट जर्ज क्रस झण्डा र बेलायतको युनियन ज्याक झण्डा टाँस्ने क्रम अहिले देशभर व्यापक रुपमा फैलिंदै गएको छ ।
गत अगस्टदेखि शुरु भएको यो अभियानअन्तर्गत सडकका ल्याम्पपोस्ट, राउन्डअबाउट, जेब्रा क्रसिङ, मोटरवे पुललगायत सार्वजनिक स्थलमा झण्डाहरु सजाइएको छ।
बेलायतभर फैलिंदै गरेको यो झण्डा अभियान बर्मिङघम, इष्ट लन्डन, म्यानचेस्टर, ब्राडफोर्ड, न्यूक्यासल, योर्क, वोर्सेस्टर, आइल अफ वाइटलगायत शहरमा झन् व्यापक देखिएको छ ।
झण्डा अभियानका समर्थकहरुले यसलाई राष्ट्रिय गौरव र देशभक्तिको पुनस्र्थापनाका लागि भनेर पुष्टि गर्ने प्रयास गरिरहेका छन् । उनीहरुले आफ्नो देशप्रतिको माया देखाउन यसलाई एक गैर–राजनीतिक र सामुदायिक पहल भनेर दाबी गरेका छन् ।
यो कुनै पनि आप्रवासी वा अन्य समुदायविरुद्ध नभइ सबै मिलेर झण्डा फहराउँदै राष्ट्रिय एकता देखाउने प्रयास गरिएको र स्थानीय स्तरमा सिंगो समुदायकै समर्थन रहेको दाबी गरिएको छ।
कतिपय स्थानीय समूहहरूले सामूहिक चन्दा उठाएर समेत आफ्ना बस्तीहरुलाई राष्ट्रिय झण्डाले सजाएका छन्।
तर, आलोचकहरुले झण्डा अभियानलाई विभाजनकारी र आप्रवासी समुदायलाई धम्क्याउने संकेतका रूपमा लिएका छन्। उनीहरुले यस अभियानलाई कट्टरवादी दक्षिणपन्थी समूहहरूको सक्रियतासँग जोडेका छन्।
कतिपय ठाउँमा झण्डाहरु इस्लामिक केन्द्र र आप्रवासी समुदाय नजिक केन्द्रित गरिएको हुँदा यसलाई उग्र राष्ट्रवादको संकेतका रूपमा आलोचना गरिएको छ।
लन्डनको टावर ह्यामलेट, डरहम लगायत कयौं स्थानीय काउन्सिलहरूले त अनुमति बिना राखिएको र सुरक्षा जोखिम सिर्जना भएको भन्दै झण्डाहरु हटाएका छन्।
इतिहासमै अल्पसंख्यकलाई दबाउन प्रयोग भएको चिन्ह भन्दै झण्डा अभियान स्पष्ट रूपमा जातीय विभाजनको प्रतीक बनेको आरोप लगाइएको छ ।
आप्रवासी विरोध प्रदर्शन गर्दै आएका बेलायतको कट्टरवादी समूहहरुले सेप्टेम्बर १३ मा लन्डनमा इतिहासकै ठूलो राजनीतिक प्रदर्शन गर्ने घोषणा गरेका छन् । सोही दिन आप्रवासी पक्षधर समूहहरूले पनि काउन्टर–प्रोटेस्ट गर्ने तयारी गरिरहेका छन्। जसले गर्दा कयौं क्षेत्रमा सुरक्षा त्रास समेत सिर्जना भएको ठानिएको छ ।
बेलायत नै ढाक्ने गरी सजाइएका राष्ट्रिय झण्डाहरुले सांच्चिकै राष्ट्रप्रेम नै झल्काइरहेका छन् त ? कि आप्रवासी समुदायप्रतिको विरोध र घृणा ? प्रश्न अनुत्तरित छ ।