बुधबार, ३ सेप्टेम्बर, २०२५
16:09 | २०:५४

लन्डन आइपुग्दै दुर्गेश थापा, कहाँ कहाँ हुंदैछन् कार्यक्रम ?

नेपाली लिङ्क सेप्टेम्बर ३, २०२५

लन्डन- पछिल्लो समयका चर्चित कलाकार दुर्गेश थापा आफ्नो विशेष सांगीतिक प्रस्तुतिका लागि बिहीबार लन्डन आइपुग्दैछन् ।

बेलायतस्थित लाइम एण्ड लेमन इन्टरटेनमेन्टको संयोजनमा बेलायतका विभिन्न क्षेत्रमा हुने दुर्गेशको ‘दुस्मन हेरेको हेर्यै यूके टुर’ का लागि उनी लन्डन आउने भएका हुन्।

सेप्टेम्बर ६ तारिख शनिबारदेखि सेप्टेम्बर १६ तारिख सोमबारभित्र बेलायतका विभिन्न आधा दर्जन स्थानमा दुर्गेशका शो तय छन् ।

लाइम एण्ड लेमन इन्टरटेनमेन्टका निर्देशक सागर पौडेलका अनुसार बेलायतमा दुर्गेशको पहिलो शो प्रेस्टनमा सेप्टेम्बर ६ तारिख हुंदैछ ।

त्यसपछि सेप्टेम्बर ८ तारिख बर्मिङहममा, १२ तारिख स्काला लन्डन किंग्स क्रसमा, १३ तारिख एम्पायर अल्डरसटमा, १५ तारिख स्कटल्यान्डमा र १६ तारिख लेष्टरमा शोहरु हुनेछन् ।

सेप्टेम्बर १२ तारिख लन्डन किंग्स क्रसको स्कालामा हुने शोमा चर्चित मिडिया पर्सनालिटी सिसन बानिया र लोकप्रिय र्‍यापर नवाज अन्सारीको पनि प्रस्तुति रहनेछ ।

दुर्गेशसहितका कलाकारहरुसंग सेप्टेम्बर ११ तारिख बेलुका लन्डन वुल्लीचको लिटल काठमाडौं रेष्टुरेन्टमा ‘मिट एण्ड ग्रीट‘ पनि गरिंदैछ ।

दुर्गेशको दुस्मन हेरेको हेर्यै शो हेर्ने टिकटहरु अनलाइनमा उपलब्ध छन् । छुट्टाछुट्टै स्थानका शोका लागि छुट्टै टिकट लिनुपर्नेछ । टिकट शुल्क अहिले ४० पाउण्ड र त्यसमा १ पाउण्ड २० पेन्सको बुकिङ शुल्क गरी जम्मा ४१ पाउण्ड २० पेन्स लाग्नेछ ।

बेलायतमा दुर्गेश थापाको शो हेर्ने टिकट लिन यहाँ क्लिक गर्नुहोस् ।

दुर्गेशको शो हेर्न लन्डन र अल्डरसटमा झण्डै एकएक हजार, बर्मिङहममा ७ सय तथा अन्य भेन्यूहरुमा ५ सय बढी दर्शक अपेक्षा आयोजकले गरेका छन् ।

बेलायतमा दुर्गेश थापालाई पहिलोपटक ल्याउन लागेको कम्पनी लाइम एण्ड लेमन इन्टरटेनमेन्ट हो । जसको नेतृत्व इभेन्ट आयोजनामा दशकभन्दा लामो अनुभव संगालेका सागर पौडेलले गरेका छन् ।

नेपालमा सन् २०१४ देखि शुरु भएको लाइम एण्ड लेमन ग्रुप अफ हस्पिटालिटीले बुटवलको कालिकानगर र चितवनको भरतपुर सिनर्जी रोडमा लाइम एण्ड लेमन लाउञ्ज सञ्चालन गर्दै आएको छ । सोही ग्रुपको ब्यानरमा बुटवल, चितवन र काठमाडौंमा नेपालका चर्चित कलाकारको प्रस्तुतिमा दर्जनौं इभेन्टहरु सम्पन्न भइसकेका छन् ।

लाइम एण्ड लेमन ग्रुपले अहिलेसम्म विपुल क्षेत्री, १९७४ एडी, सविन राई, कबवेव, अल्ब्राटस, आर्थर गनजस्ता बहुचर्चित कलाकार र ब्यान्डका शोहरु सफलतापूर्वक आयोजना गरिसकेको निर्देशक पौडेलले जानकारी दिए ।

विगत केही समयदेखि बेलायत बस्दै आएका पौडेलले बेलायतमा पनि लाइम एण्ड लेमन इन्टरटेनमेन्टको ब्यानरमा इभेन्टहरु आयोजना गर्दै आएका छन् । यसअघि बर्मिङहममा भिटेनको शो गरिसकेको उनको कम्पनीले नेपाली न्यू इयरमा लन्डन थेम्स नदीमा बोट पार्टी समेत गरिसकेको छ ।

बेलायतमा आफ्नो तेस्रो इभेन्टका रुपमा दुर्गेश थापाको ‘दुस्मन हेरेको हेर्यै यूके टुर’ गर्न लागेका पौडेलले भविष्यमा अरु थुप्रै उत्साहजनक इभेन्टहरु समेत पाइपलाइनमा रहेको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू