लन्डन पशुपतिनाथ मन्दिरको अध्यक्ष चुनिए रोमनाथ पाण्डे



लन्डन- लन्डन पशुपतिनाथ मन्दिरको अध्यक्षमा सामाजिक अभियन्ता रोमनाथ पाण्डे चुनिएका छन् ।
बुधबार सम्पन्न मन्दिरको ट्रष्टी बोर्ड बैठकले बोर्डका सदस्य पाण्डेलाई आगामी दुई वर्षे कार्यकालका लागि मन्दिरको अध्यक्ष चुनेको हो ।
यही सेप्टेम्बर २१ आइतबार तय मन्दिरको अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति औपचारिक रुपमा निर्वाचित गर्ने तालिका छ । तर मन्दिरको विधानमा ट्रष्टी बोर्डले ट्रष्टीहरुमध्ये एक जनालाई अध्यक्ष चुन्ने व्यवस्था रहेअनुसार अहिले नै नयाँ अध्यक्षमा पाण्डेलाई चुनिएको हो ।
१३ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरु पनि नवमनोनित अध्यक्षकै सिफारिशमा ट्रष्टी बोर्डले अनुमोदन गर्नेछ ।
यसअघि मन्दिरको नयाँ नेतृत्वका लागि चर्चामा रहेका वर्तमान कार्यसमितिका उपाध्यक्ष भोजराज कंडेल सहमतिका लागि पछि हटेपछि पाण्डे सर्वसम्मत अध्यक्ष बन्ने भएका हुन् ।
लन्डन पशुपतिनाथ मन्दिरका संस्थापकमध्ये एक रहेका पाण्डेको काँधमा अब मन्दिरको नेतृत्व आउने भएको छ । मन्दिर स्थापनाकालदेखि नै ट्रष्टीका रुपमा सक्रिय उनले वर्तमान कार्यसमितिमा रहेर काम गरेका थिए ।
समाजमा मिलनसार र भद्र छवि बनाएका पाण्डे साउथ इष्ट लण्डनका सुपरचित र अनुभवी सामाजिक अभियन्ता हुन् । यसअघि चार्ल्टन नेपाली समाज यूकेको नेतृत्व सम्हालिसकेका उनले एनआरएनए यूके, गुल्मी जिल्ला समाज यूकेजस्ता कयौं संघसंस्थामा पनि सल्लाहकारको भूमिका निर्वाह गरेका छन् ।
गुल्मीको अस्लेवा घर भएका पाण्डे करिब अढाई दशकदेखि बेलायतमा बस्दै आएका छन् । उनी सञ्चालक रहेको माउन्टेन भ्यू रेष्टुरेन्ट लन्डन ग्रीनवीच क्षेत्रकै लोकप्रिय इन्डियन तथा नेपाली रेष्टुरेन्ट मानिन्छ।
मन्दिरको नेतृत्वमा चुनिएका पाण्डेले आगामी दुई वर्षे कार्यकालमा एक सच्चा स्वयमसेवकका रुपमा मन्दिर र भक्तजनहरुको सेवामा खटिने अठोट व्यक्त गरेका छन् ।
मन्दिरलाई सबैको साझा आस्थाको केन्द्रका रुपमा अगाडि बढाउने तथा भौतिक रुपमा थप व्यवस्थित, विकसित र सुविधायोग्य बनाउनेतर्फ आफ्नो अधिकतम प्रयास रहने उनले बताएका छन् ।
तस्विर: प्रकाश कंडेल
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५