बुधबार, २७ अगस्ट, २०२५
20:00 | ००:४५

लन्डन प्लमस्टिडमा १२ सय बढी महिलाले एकसाथ मनाए तीज

नेपाली लिङ्क अगस्ट २७, २०२५

लन्डन- हरितालिका तीज मंगलबार लन्डन प्लमस्टिडमा १२ सय बढी नेपाली महिलाले एकसाथ मनाएका छन्।

श्री पशुपतिनाथ मन्दिर प्लमस्टिडको आयोजनामा एशियन कम्युनिटी सेन्टर, प्लमस्टिडमा भएको कार्यक्रमका सहभागीले नाचगानका साथै सामूहिक रुपमै तीज पूजा पनि गरे।

मन्दिर समितिका अध्यक्ष गोपालप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतस्थित नेपाली राजदूतकी धर्मपत्नी श्रीमती सरिता घिमिरेले सहभागीहरूलाई तीजको शुभकामना व्यक्त गरिन्।

मन्दिरका ट्रस्टी संयोजक तथा पूर्व अध्यक्ष दासुराम पाण्डेले पनि शुभकामना मन्तव्य दिँदै मन्दिर र तीज कार्यक्रमबारे जानकारी गराए।

मन्दिर समिति अध्यक्ष गोपाल अर्यालले सबै सहभागी, कार्यसमिति, ट्रस्टी, स्वयंसेवक र सहयोगीलाई धन्यवाद दिए। सचिव हिराप्रसाद ओझाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भोजराज कँडेलले दिए ।

कार्यक्रममा सहभागी महिलाहरुले लोकप्रिय डिजे हेम बिष्टका तीज गीतमा घण्टौंसम्म नाचगान गरी माहोल उल्लासमय बनाएका थिए ।

सो अवसरमा बेक्स्ली नेपाली समाज, प्रतिभा नक्षत्र विजेता र अरु स्थानीय कलाकारहरूले मञ्चमा तीज गीतमा आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए।

यो वर्ष तीज कार्यक्रममा पहिलोपटक दुई वटा ‘टिकटक फोटो बुथ’ राखिएको थियो जहाँ फोटो खिच्न र टिकटक बनाउन सहभागी महिलाहरु झुम्मिएका थिए। टिकटक बुथहरु अध्यक्ष गोपाल अर्याल र राधा सापकोटाको सहयोगमा तयार पारिएका थिए ।

यस वर्षको कार्यक्रममा मन्दिरले पहिलोपटक व्रतालु महिलाहरुलाई प्रसादस्वरूप साबुदाना वितरण गरेको थियो। उपाध्यक्ष भोजराज कँडेलको संयोजनमा स्वयंसेवकहरु रामकृष्ण अर्याल, गुणाखर शर्मा, राम सापकोटालगायतको सहयोगमा प्रसाद तयार पारिएको थियो।

नाचगानअघि व्रतालु महिलाहरु मन्दिरका पन्डितहरु निलहरि घिमिरे, विनोद पन्थी लगायतले सञ्चालन गरेको तीज पूजामा सहभागी भएका थिए।

त्यस्तै, पशुपतिनाथ मन्दिरले डेढ दशकभन्दा बढी समयदेखि निरन्तर तीज महोत्सव आयोजना गर्दै आएको छ। उल्लेख्य सहभागिताका हिसाबले यो वर्षको कार्यक्रम झनै व्यापक र भव्य बनेको आयोजकले बताएका छन्।

तस्विर: प्रकाश कंडेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू