बुधबार, २७ अगस्ट, २०२५
00:01 | ०४:४६

बेलायतको तामाङ समुदायसँग कुलमान घिसिङ, सम्मानको ओइरो

नेपाली लिङ्क अगस्ट २६, २०२५

लन्डन, फेल्थाम—तामाङ घेदुङ यूके केन्द्रीय समितिले ‘अन्धकारबाट उज्यालोतिर, राष्ट्रलाई शक्ति प्रदान गर्ने दूरदर्शी कुलमान घिसिङलाई सम्मान’ शीर्षकमा विशेष ‘मीट एण्ड ग्रीट’ कार्यक्रम गरेको छ । सोमबार लण्डनको फेल्थाम कम्युनिटी हलमा कार्यक्रम भएको हो ।

कार्यक्रम तामाङ घेदुङ यूकेका केन्द्रीय अध्यक्ष हरिसिंङ वाइबाको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रमुख अतिथि उज्यालो नेपाल अभियानका नायक कुलमान घिसिङले आफ्नो मन्तव्य दिँदै तामाङ समुदायले सबै संगठनलाई एउटै संस्थामा एकीकृत गरी देखाएको उदाहरणीय एकता प्रशंसनीय रहेको बताए । यसलाई अझ मजबुत बनाउन सबै मिलेर सहयोग गर्नुपर्ने उनको सुझाव थियो । उनले भने— “सरकारले कार्यक्षमताका आधारमा जुनसुकै नम्बर दिए पनि, देश–बिदेशका नेपालीले देखाएको मायाले म गौरवान्वित भएको छु।”

साथै, उर्जा क्षेत्रमा पुनः फर्किने इच्छा नरहेको स्पष्ट पार्दै उनले राज्यको निर्णय प्रक्रियामा दक्षता बढाई प्रभावकारी कार्यान्वयन गर्न सकेमात्र देशका हरेक क्षेत्रमा सुधार ल्याउन सकिने विश्वास व्यक्त गरे।

विशेष अतिथिद्वय थाउजेन्ड बुद्ध यूकेका अध्यक्ष अवकाशप्राप्त मेजर समुद्र गुरुङ र गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरले पनि तामाङ घेदुङ यूकेले देखाएको एकता सम्पूर्ण समुदायका लागि अनुकरणीय भएको बताएका थिए।

कार्यक्रममा तामाङ घेदुङ यूकेका केन्द्रीय उपाध्यक्ष एवम् क्षेत्रीय अध्यक्ष उदय कुमार घिसिङ, आइतसिंह मम्बा, अनिश वाइबा र गोपाल तामाङले घेदुङको नेतृत्वमा भएको एकतालाई अझ मजबुत पार्दै यसले तामाङ समुदायको सर्वोपरि हित सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। 


त्यसैगरी, धादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष तथा तामाङ घेदुङ यूकेका केन्द्रीय सल्लाहकार धन पाख्रिन र महासचिव बम ब्लेंथेनले पनि ऐक्यबद्धतासाथ अगाडि बढ्नुपर्नेमा जोड दिए।

दावा स्याङ्बोले संयोजन गरेको उक्त समारोहमा केन्द्रीय उपाध्यक्ष कुमार स्याङ्तानले स्वागत मन्तव्य र सचिव विशाल स्याङ्बो तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

सांस्कृतिक प्रस्तुतिहरूमा कुमार योञ्जन, दिलीप तामाङ, कुसुम तामाङ, निशिम तामाङ, प्रबिता तामाङ, कोपिला लामा, कन्यामाया तामाङ, सिम्रन पाण्डे, फ्रीजिना तामाङ, ललिता लामा र कृष्णा राईलगायतका कलाकारहरूले नृत्य तथा गायन प्रस्तुत गरेका थिए। 

प्रमुख अतिथि कुलमान घिसिङकै हातबाट कलाकारहरुलाई खादा र प्रशंसा पत्र प्रदान गरिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू