लन्डन बेक्सलीको तीजमा नेपाली दिदीबहिनीसंगै नाचिन् ब्रिटिश मेयर



लन्डन- लन्डन बेक्सली बरोमा बस्ने नेपाली महिलाहरुले विशेष कार्यक्रमका साथ तीज मनाएका छन्।
शनिबार स्थानीय फाल्कनवुड कम्युनिटी सेन्टरमा २ सय बढी स्थानीय महिलाको सहभागितामा तीज कार्यक्रम सम्पन्न भएको हो ।
समाजकी अध्यक्ष विजिता गौतमको अध्यक्षतामा सम्पन्न तीज कार्यक्रममा प्रमुख अतिथि स्थानीय बेक्सली बरोकी मेयर क्रिष्टिन क्याटरल थिइन्। कार्यक्रममा उत्सकुतापूर्वक सहभागी ब्रिटिश मेयरले पनि केहीबेर नेपाली दिदबिहिनीसंगै मिसिएर तीज गीतमा कम्मर मर्काएकी थिइन् ।
कार्यक्रममा छोटो शुभकामना दिंदै मेयर क्याटरलले नेपाली महिलाहरुको सांस्कृतिक पर्व तीजका सकारात्मक र मनोरञ्जनात्मक पक्षबबाट आफू प्रभावित बनेको बताइन् ।
समाजकी अध्यक्ष विजिता गौतमले नेपालका विभिन्न क्षेत्रबाट बेलायत आएका दिदीवहिनीलाई तीज कार्यक्रमले एकै ठाउँमा भेला गराएकोमा खुशी व्यक्त गर्दै यो पर्वले आपसी सद्भाव र आत्मीयता बढाउने शुभेच्छा प्रकट गरिन् ।
कार्यक्रमकी संयोजक एवम् समाजकी उपाध्यक्ष विमला सेढाईंले स्वागत मन्तव्य दिंदै कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।
कार्यक्रम सञ्चालक समाजका महासचिव उमेशचन्द्र गौतमले कार्यक्रममा बालबालिकाले गरेको सांस्कृतिक प्रस्तुतिले समाजको सक्रियतामा सञ्चालित नेपाली भाषा तथा नृत्य कक्षाको प्रभावकारिता पुष्टि गरेको बताए । कार्यक्रममा ‘हेल्थ एण्ड सेफ्टी ब्रीफ’ सचिव राजेन्द्र लम्सालले दिए ।
सो अवसरमा डिजे डिनले विभिन्न तीजका रमाइला गीतहरु बजाएर सहभागी महिलाहरुलाई घण्टौंसम्म नचाएका थिए। उनीहरुलाई प्रमुख अतिथि ब्रिटिश मेयरसंगै संस्थाका पूर्व अध्यक्ष, कार्यसमितिका अरु पदाधिकारी र विभिन्न संस्थाबाट आएका अतिथिहरुले पनि साथ दिएका थिए ।
सोही अवसरमा सिजल, लुना, विधि र हेजल तथा किर्तिका, हेविना, स्मारिका, सुडी र किर्तिकाका दुई दुई छुट्टाछुट्टै आकर्षक सांस्कृतिक नृत्य देखाएका थिए । ६ वर्षीया नोरा अधिकारीले ‘मलाई नेपाली माया मन पर्छ’ बोलकी नेपाली गीत गाएर सुनाइन् ।
कार्यक्रममा सहभागी महिलाहरुलाई तीजको शुभकामनास्वरुप समाजका तर्फबाट टीका र पोते उपहार दिइएको थियो ।
कार्यक्रममा एनआरएनए इंग्ल्यान्ड अध्यक्ष राममाया विष्ट, चार्ल्टन नेपाली समाजका अध्यक्ष वसन्त खनाल, डाटफोर्ड नेपाली समाज अध्यक्ष तीर्थ पौडेल, पशुपतिनाथ मन्दिर लन्डन अध्यक्ष गोपालप्रसाद अर्याल, आरजीएनएस अध्यक्ष लिलादेवी गुरुङ, साउथ इष्ट रिजनल तमुधिं लन्डन अध्यक्ष शिवराम गुरुङलगायतका अतिथिका साथै समाजका पूर्व अध्यक्षहरु विजय गुरुङ, आनन्द धरेल र निवर्तमान अध्यक्ष डा हरिश ज्ञवालीसहितको उपस्थिति थियो ।
सोही अवसरमा समाजका नवआगन्तुक आजीवन सदस्यहरुलाई प्रमुख अतिथि मेयर र समाजको अध्यक्षबाट प्रमाणपत्र वितरण गरिएको थियो । सल्लाहकार हेमन्त सेढाईंको संयोजनमा नगदसहितका विभिन्न आकर्षक पुरस्कार रहेको राफल ड्र गराइएको थियो ।
तस्विरहरु: गुणदेव घिमिरे
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५