आइतबार, २४ अगस्ट, २०२५
13:00 | १७:४५

लन्डनमा १६औं नेपाली मेला आज, यस्तो हुँदैछ कार्यक्रम

नेपाली लिङ्क अगस्ट २४, २०२५

लन्डन केम्पटन पार्कमा नेपाली मेलाको लागि तयार स्टेज (तस्विर: मिलन तमु)

लन्डन- लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार विविध सांस्कृतिक प्रस्तुतिहरु र एक भव्य कार्यक्रमका साथ १६औं नेपाली मेला आयोजना हुँदैछ।

तमुधिं यूकेको आयोजना र बेलायतस्थित नेपाली दूतावासको सहकार्यमा हुने यो मेलामा यसपटक झन् धेरै आकर्षण रहने आयोजकले जनाएका छन्।

बिहान १० देखि बेलुका ८ बजेसम्म कार्यक्रम निर्धारित छ।

मेलामा करिब ७० भन्दा बढी स्टल, ३५ भन्दा बढी झाँकी र १५ भन्दा बढी सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनेछ। मौलिक नृत्य र लोकसंगीतका साथै भेषभूषा, हस्तकला तथा नेपाली परिकारका विविध स्टलहरु पनि रहनेछन्।

तमुधिं यूके महासचिव डा विशाल गुरुङका अनुसार कार्यक्रमलाई प्रमुख अतिथि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र विशेष अतिथि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा ‘उज्यालो नेपाल’ अभियन्ता कुलमान घिसिङले विशेष सम्बोधन गर्नेछन्।

साथै, बेलायतस्थित विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरु, नेपाली संघसंस्था र समुदायका अगुवाहरुको समेत उपस्थिति रहनेछ। मेलामा बेलायतभरबाट १५ हजार बढी नेपालीको सहभागिता रहने अपेक्षा छ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित हुने मेलाको अनुमानित खर्च करिब ५१ हजार पाउण्ड रहने बताइएको छ। प्रवेश शुल्क ५ पाउण्ड (पार्किङसहित) तोकिएको छ भने बालबालिका (१२ वर्षमुनि) र ज्येष्ठ नागरिक (७५ वर्षमाथि) लाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

आयोजकका अनुसार मेलाबाट संकलित आम्दानीको एक अंश यस वर्ष पनि नेपालमै सामाजिक सेवामा सहयोग गरिनेछ।

मेलास्थलमा अन्तिम तयारीको लागि शनिबार सयौंको संख्यामा तमुधिं यूकेका स्वयमसेवकहरु खटिएका थिए।

मेला संयोजक तमुधिं यूके उपाध्यक्ष कमल कोने गुरुङले कार्यक्रमको सबै तयारी पूरा भएको र सहभागीहरुलाई स्वागत गर्न आयोजक तयार रहेको जानकारी दिए।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाल र नेपाली कला, संस्कृति प्रवर्द्धनको लक्ष्य राखेर ठूलो मेहनत र तयारीसाथ आयोजना गरिएको नेपाली मेलामा सहभागी हुन बेलायतवासी सबै नेपालीलाई पुन: आव्हान गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू