शनिबार, २३ अगस्ट, २०२५
11:29 | १६:१४

तीन वर्षपछि लन्डन दूतावासमा तीज रौनक (तस्विरहरु)

नेपाली लिङ्क अगस्ट २३, २०२५

लन्डन । करिब तीन वर्षपछि लन्डनस्थित नेपाली दूतावासमा महिलाहरुको महान पर्व तीज मनाइएको छ ।

दूतावासमा तीज, दशैं जस्ता महान पर्व मनाउने लामो परम्परा रहेपनि कोभिड लगायत कारण केही वर्ष यस्ता यहां ति गतिविधि भएका थिएनन् ।

साढे ६ महिनाअघि आफ्नो जिम्मेवारी सम्हालेका राजदूत चन्द्र कुमार घिमिरेले पर्व मनाउने परम्परा शुरु गरेर प्रशंसा बटुलेका छन् ।

शुक्रबार दूतावास भवनमा आयोजित कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका महिला प्रमुख, कलाकारहरु र अन्य सर्वसाधारण महिला सहभागी भएर उल्लासमय वातावरणमा तीज मनाए ।

कार्यक्रमकी प्रमुख आकर्षण लोकप्रिय गायिका कोमल वलीको गीतमा नाचगान गरेर सहभागीले तीज धुमधामसंग मनाए ।

सो अवसरमा नेपालबाटै आएका गायक देउडा सम्राट नन्दकृष्ण जोशी र लन्डनवासी गायिका सितु खरेलको प्रस्तुति थप आकर्षण रहे । गायिका वलीले राजदूतसहित दूतावासका सम्पूर्ण कर्मचारीलाई स्टेजमा डाकेर खुबै नचाइन् ।

कार्यक्रममा राजदूत पत्नी सरिता न्यौपाने घिमिरेले सबैलाई स्वागत मन्तव्य दिंदै हरितालिका तीजको शुभकामना दिइन् । आफ्नो निमन्त्रणामा दूतावासलाई माइती सम्झेर दर खान र रमाइलो गर्न आएकामा सबैप्रति उनले आभार पनि व्यक्त गरिन् ।

उनले वाल्यकालको तीज र यसको महत्व समेत स्मरण गर्दै ‘आमा टाढा छु है म, यस पाली तीजमा आउन सकिन…विदेशी भूमिमा कर्म गर्दैछु…’ शब्दमा आफ्नो भावना प्रस्तुत गरेकी थिइन् ।

न्यौपानेले महिलामाथि हुने अनेक खालका विभेद, हिंसा अन्त्य गरि महिला सशक्तिकरणमा जोड दिइन् । नेपाली कला, संस्कृतिबारे जोड दिंदै उनले भड्किलो नबनाइ तीजको मौलिकता जोगाउन पनि आग्रह गरिन् ।


गायिका कोमल वलीले विश्वभरका नेपालीहरुलाई तीजको शुभकामना दिंदै हिंसारहित, सुखमय जीवनको कामनासहित हरेक महिलामा खुशी छाइरहोस् भन्ने शुभकामना दिइन् । उनले तीजको महत्व र यसको ऐतिहासिक एवं धार्मिक पक्षमा समेत प्रवचन दिइन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेकी गायिका वलीले डिप्लोमेसीको महत्वमाथि प्रकाश पार्दै यसमा राजदूत घिमिरेले राम्रो भूमिका निर्वाह गर्ने आशा व्यक्त गरिन् ।

राजदूत घिमिरेले पनि शुभकामना दिंदै दूतावासको आंगनमा नेपाली चेलीहरुलाई स्वागत गर्न पाउंदा खुशी लागेको बताए ।


उक्त कार्यक्रम एनआरएनए आइसीसी युरोप महिला संयोजक एवं नेपलिज नर्सिङ एसोसिएसन यूकेकी पूर्व अध्यक्ष प्रसुना कंडेलले सञ्चालन गरेकी थिइन् ।

सो अवसरमा सहभागीको सामूहिक नृत्यसंगै १३ वर्षीया विधि बुढाथोकीले ‘तीजको लहर आयो बरिलै…’ मा आकर्षक नाच प्रस्तुत गरेकी थिइन् ।

बेलायतमा पनि तीज रमझम शुरु भइसकेको छ । विभिन्न संघसंस्थाका कार्यक्रम र घरघरमा समेत दर खाने, नाचगान र पूजा अर्चना कार्यक्रम हुन लागेका छन् ।

हरितालिका तीज नेपाली समाजमा महिलाहरूको योगदान र समर्पणलाई सम्मान गर्ने अवसरका रुपमा लिइन्छ ।

ज्योतिषाचार्य एवम् वास्तुविज्ञ डा. उत्तम उपाध्याय न्यौपानेका भनाइमा हरितालिका तीज नेपाली समाजको सांस्कृतिक र धार्मिक धरोहरको महत्वपूर्ण हिस्सा हो । यस पर्वले पारिवारिक समर्पण, पतिपरायणता र धार्मिक आस्थाको मूल्यलाई सम्मान गर्दछ ।

तस्विरः शिव भण्डारी

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू