अन्तरराष्ट्रिय प्रतियोगिता खेल्न नेपाल सेरेब्रल पाल्सी महिला फुटबल टोली इंग्ल्यान्डमा



लन्डन- इंग्ल्याण्डमा आयोजना हुने सेरेब्रल पाल्सी (मस्तिष्क पक्षघात) भएका महिलाको अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता खेल्न नेपाली टोली लन्डन आइपुगेको छ ।
इन्टरनेसनल फेडरेसन अफ सेरेब्रल पाल्सी फुटबल (आइएफसिपिएफ) को आयोजनामा अगष्ट १७ देखि २३ तारिखसम्म बेलायतको मिडल्यान्डस्थित लबरोमा हुने वुमन्स इन्टरकन्टिनेन्टल कपमा नेपाली टोली सहभागी हुंदैछ ।
प्रतियोगिताका लागि १० सदस्यीय नेपाल सेरेब्रल पाल्सी महिला फुटबल टोली अहिले बेलायत आइपुगेको छ । नेपाली टोलीमा सेरेब्रल पाल्सी भएका पाँच जना महिला खेलाडी, ३ जना शारीरिक अपांगता भएका महिला व्यवस्थापक, एक जना फिजियोथेरापिस्ट र एक जना प्रशिक्षक सामेल छन् ।
नेपाली टोलीले प्रतियोगिताको समूह चरणमा पहिलो खेल सोमबार नेदरल्यान्डसंग खेल्दैछ । त्यसपछि मंगलबार अमेरिका, बुधबार अष्ट्रेलिया र विहीबार डेनमार्कसंग खेल्ने तालिका छ । प्रतियोगिताका फाइनल खेलहरु शनिबार आयोजना हुनेछन् ।
सेरेब्रल पाल्सी भएका महिलाहरुलाई खेलकुदमार्फत सशक्तिकरण गर्ने र समावेशी खेललाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल सेरेब्रल पाल्सी महिला फुटबल टोली यो प्रतियोगितामा सहभागी हुन लागेको जनाइएको छ ।
नेपाली टोलीको बेलायत भ्रमणका क्रममा सहयोग गरिरहेकी गोर्खाकप २०२५ मा महिलातर्फको विजेता क्लब रन्डरबोल्ट एफसकी रविना श्रेष्ठले इंग्ल्याडमा आयोजित अन्तरराष्ट्रिय प्रतियोगितामा सेरेब्रल पाल्सी भएका नेपाली महिलाहरुको टीम पनि सहभागी हुनु गौरवको विषय रहेको बताइन् ।
यसले नेपालमा सेरेब्रल पाल्सी फुटबलप्रतिको जनचेतना र खेलाडीको हौसला बढाउन महत्वपूर्ण सहयोग पुर्याउने विश्वास उनको छ ।
यसअघि बेलायतस्थित नेपाली महिला फुटबलरहरुको क्लब रन्डरबोल्टले बेलायतमा रकम संकलन गरी आर्थिक अभावमा परेकी नेपाली टोलीकी एक खेलाडीको टिकट खर्च समेत जुटाइदिएको थियो ।
प्रतियोगिता खेलेर नेपाली टोली बुधबार २७ अगष्टमा नेपाल फर्किने कार्यक्रम छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५