आइतबार, १७ अगस्ट, २०२५
19:56 | ००:४१

लन्डनमा पहिलोपटक इन्द्र जात्रा, ओइरिए हजारौं दर्शक

नेपाली लिङ्क अगस्ट १७, २०२५

लन्डन– काठमाडौंमा ८ दिन सम्म मनाइने पृथक र सांस्कृतिक महत्वको इन्द्र जात्रा लन्डनसम्म आइपुगेको छ । 

नेपालबाहिर सम्भवत: पहिलोपटक शनिबार फेल्थाममा आयोजित ‘लन्डन इन्द्र जात्रा’ ले काठमाडौंकै झल्को दियो ।

पासा पुच गुथि यूकेले काठमाडौंको प्रतीक (रिफलेक्सन अफ काठमाडौं) का रुपमा यहां भित्रयाएको जात्रा अवलोकन गर्न नेवार समुदायबाहेक विदेशीसमेत गरि तीनहजार बढी दर्शक सहभागी भए । 

उक्त जात्राले नेपालको संस्कृति, शैली सिको गर्दै लन्डन फयूजन पस्किएको आयोजकले सुनाए ।

इन्द्र जात्रामा बेलायतमै बनाइएका कुमारी, भैरव र गणेशको रथ तानिएको थियो । नेपालको जिवित देवी कुमारीको तस्विर टांगिएका ति रथ परिक्रमा गराईंदा दोश्रो पुस्ता निकै उत्साहपूर्वक सहभागी भए । अघिल्लो सन्ध्यामा गणेश र भैरवको विधिपूर्वक पूजा पनि गरिएको थियो ।  

रथ तानेपछि अन्त्यमा ठड्याइएको यःसिं (लिङ्गो) ढालिएको थियो ।  

जात्रामा धिमे, ढा, खिं, बांसुरी लगायत कयौं बाजा प्रस्तुत गरिए । यसैका लागि गुथिका विभिन्न च्याप्टरमा झण्डै एक वर्षदेखि युवाहरुलाई धिमे बाजा प्रशिक्षण गराइएको थियो ।

लाखे नाच, कुमारी नाच, मन्जुश्री नाच, भैरवगण नाच, हुलां प्याखः, धिमे प्याखः आदिमा युवा पुस्ता बढी सामेल भए ।

बेलायतमा विगत २५ वर्षदेखि लाखे नाच देखाइरहेका वरिष्ठ कलाकार विनोद चिपालुको नेतृत्वमा गरिएको लाखे महोत्सव र हाथु द्योः बाट थोंसहित समेंबजि डों (प्रसाद) चाख्न पनि हौसिए दर्शक ।

मौलिक नेपाली, नेवारी परिकार पस्किएका स्टलले पनि जात्रामा आकर्षण थपेको थियो ।

प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले कृष्णा जन्माष्टमी र इन्द्र जात्रा एकै दिन पर्नु सुखद संयोग भएको बताउंदै काठमाडौंमा इन्द्र जात्रामा पानी परेजस्तै लन्डनमा पनि पानी पर्न थालेको प्रसंग जोडे । 

नेपालबाहिर पहिलोपटक इन्द्र जात्रा, इन्द्र भगवानलाई बेलायत ल्याएर इचिहास रचेको भन्दै राजदूत घिमिरेले आयोजकलाई बधाइ दिए । उनले जात्रा सफल बनाउन योगदान गर्ने सबै धन्यवादका पात्र भएका पनि बताए । 

नेपाल वहुभाषिक, वहु सांस्कृतिक देश भएको बताउंदै राजदूत घिमिरेले हामीहरुले सबै चाडपर्व, संस्कृति, रितिरिवाज, भाषालाई बराबार मानेर मनाउनु पर्नेमा पनि जोड दिए । उनले विदेशमा रहेपनि रचनात्मक भएर देशका लागि योगदान गर्न सबैमा आग्रह गरे ।  

आयोजक पासा पुचः गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशील प्रजापतिले बेलायतमै मौलिक संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित जात्रा गरिएको जनाए । 

उनले सन् २००० मा गुथि स्थापना भएपछि यूकेमा म्ह पूजा, गुथि भ्वय, गुथि पूजा, वृहत नेवा मुना, योमरी पुन्ही, गुथि सेमिनार, लन्डन खः जात्रा, लन्डन बिस्का जात्रा लगायत विभिन्न सांस्कृतिक गतिविधि भइरहंदा अब इन्द्र जात्रा थपिएको उल्लेख गरे । यो दोश्रो पुस्तालाई कला संस्कृति अनुशरण गर्न कोशेढुंगा भएको पनि प्रजापतिले बताए ।

जात्रा संयोजक, गुथिका पूर्व अध्यक्ष एवं हाल संरक्षक ओजेश सिंहले सन् २०२० मै इन्द्रजात्रा गर्ने योजना गरिएपनि कोभिडका कारण ५ वर्षपछि २५ औं वार्षिकोत्सव पारेर ऐतिहासिक लन्डन इन्द्रजात्रा गरिएको बताए । 

औपचारिक कार्यक्रममा नेपालबाट आएका गुठी संस्थानका कार्यकारी प्रमुख (प्रशासक) शैलेश राज कुंवरले गुठी संस्थानले साविकदेखि सञ्चालन र व्यवस्थापन गर्दै आएको जीवन्त सांस्कृतिक सम्पदा येंयाः पुन्ही (इन्द्रजात्रा) को संरक्षण एवं प्रवर्धनमा पासा पुचः गुथि यूकेको योगदान सर्‍हानीय भएको बताए ।  

ज्यापु महागुठी नेपालका पूर्व अध्यक्ष एवं लोक कवि राजभाइ जकामीले नेवा कला, संस्कृति, भाषा, परम्परा आदि संरक्षणमा गरेको कार्यको प्रशंसा गरे । उनले नेवारी भाषामा कविता पनि सुनाएका थिए ।

कार्यक्रममा महासचिव प्रजेश श्रेष्ठले स्वागत मन्तव्य दिए । सो अवसरमा प्रायोजक, सहयोगी, कलाकार, अतिथी एवं विशिष्ठ व्यक्तित्वलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो ।

नर्स सुनिता गौतमले मन्जुश्री नाच र विनोद चिपालुले लाखे नाच देखाए । धिमे बाजा पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन र पासा पुचः गुथि यूके लन्डन च्याप्टरका युवाहरुले बजाएका थिए । कुमारी नाच मनिता श्रेष्ठ, टिसा प्रजापति, फियोना महर्जन, अमिरा श्रेष्ठ र श्रीषा प्रजापतिले प्रस्तुत गरे ।

कार्यक्रम आस्था जोशी बटाजुले सञ्चालन गरेकी थिइन् ।

तस्विरहरु: रुपक प्रजापति

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू