कुलमान घिसिङसंग एनआरएनए यूकेको अन्तरक्रिया



लन्डन । राजेन्द्र पुडासैनी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङसंग ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ ।
उज्यालो नेपाल अभियान अन्तर्गत गत सोमबार बेलायत उत्रिएका घिसिङसंग एनआरएनए यूकेले शुक्रबार प्लमस्टेडमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा उज्यालो नेपाल अभियान अन्तर्गत विदेश यात्रामा निस्किएको अनुभव सुनाउंदै घिसिङले यस अभियानमा वैदेशिक लगानी भित्रयाउने कोशिसमा देश–विदेशका साथीहरुसंग जोडिएको जानकारी दिए । उनले नेपालीहरु विदेशमा डाक्टर, इन्जिनियर, वैज्ञानिक जस्ता पेशामा काम गरिरहेकाले नेपालले धेरै फाइदा लिन सक्ने अवस्था रहेको जनाए ।
घिसिङले डायष्पोराका नेपालीहरुले नेपालमा बस्ने र लगानी गर्ने कोशिस गर्दा सास्ती खेप्नु परेकाले पुनः विदेश नै फर्किएको अनुभव सुनाएको भन्दै यसलाई सम्बोधन हुनुपर्नेमा जोड दिए । सरकारले विदेशमा रहेका नेपालीहरुलाई संविधान प्रदत्त अधिकार दिनुपर्ने पनि उनको भनाइ थियो ।
‘अबको विश्व उर्जामा निर्भर भएकाले नेपालमा जल विद्युतको सम्भाव्यता अझै छ’, उनले भने, ‘नेपालमा सरकारले व्यवस्थित लगानी गर्ने वातावरण बनाए डायष्पोराबाट धेरै लगानी जाने देखिन्छ ।’
घिसिङलाई फ्लोरबाट प्रवक्ता श्याम लुर्ईंटेल, इ. विदुर घिमिरे, राज पाण्डे, पूर्व मेयर जीत रानाभाट लगायतले प्रश्न गरेका थिए । कार्यक्रममा सोधिएका प्रश्नहरुको जवाफ दिंदै घिसिङले यो उज्यालो नेपाल एक सामाजिक अभियान भएको बताए । ‘म नेपालमा बसेर नेपालकै लागि केही गर्न चाहन्छु र त्यसमा लागिरहेको छु । यो अभियानलाई तपाईं सबैको सहयोग आवश्यक छ’, उनले भने ।
अध्यक्ष पुडासैनीले कुलमान जस्ता प्रतिभा नेपालभर रहेकाले एनआरएनए यूकेले नेपाल राष्ट्रका लागि काम गर्नेहरुसंग सहकार्यको हात अघि बढाउने जनाए । उनले घिसिङलाई बेलायतमा स्वागत पनि गरे ।
यसअघि अध्यक्ष पुडासैनी र उपाध्यक्ष डा. रक्षा थापाले फुल र खाँदा ओडाएर घिसिङलाई स्वागत गरेका थिए ।
एनआरएनए यूके अध्यक्ष पुडासैनीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन एनआरएनए यूकेका पूर्व सचिव तिलक भट्टराईले गरेका थिए । कार्यक्रममा एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष राममाया विष्टले स्वागत गरेकी थिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५