बुधबार, १३ अगस्ट, २०२५
18:04 | २२:४९

स्कटल्यान्डमा लाइभ शो गर्दै दुर्गेश थापा, कार्यक्रम सेप्टेम्बर १५ मा

नेपाली लिङ्क अगस्ट १३, २०२५

लन्डन- पछिल्लो समयका बहुचर्चित गायक तथा परफर्मर दुर्गेश थापाले स्कटल्यान्डवासी दर्शकमाझ लाइभ प्रस्तुति गर्ने भएका छन्।

स्कटल्यान्डस्थित यात्री इभेन्ट्सको आयोजनामा आगामी सेप्टेम्बर १५ तारिख सोमबार दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै टुर’ अन्तर्गत लाइभ शो हुने भएको हो ।

एडिनबराको भिक्टोरिया स्ट्रिटस्थित ‘भेन्यू लाउड रुम’ मा बेलुका सात बजेदेखि शो सञ्चालन हुनेछ । शोका लागि भेन्यू गेट साँझ सवा ६ बजे खुला हुनेछ ।

दुर्गेशको लाइभ शोमा १४ वर्ष माथिका दर्शकलाई मात्र प्रवेश सिमित गरिएको तथा १८ वर्ष मुनिका दर्शक अभिभावकका साथमा रहनुपर्ने आयोजक यात्री इभेन्ट्सका खीमा गौतमले बताए ।

स्कटल्यान्डमा हुन लागेको दुर्गेशको पहिलो लाइभ सांगीतिक शो गुणस्तरीय र मनोरञ्जनपूर्ण बनाउने तयारीमा आयोजक यात्री इभेन्ट्स जुटिरहेको छ ।

शो हेर्न ६ सय बढी दर्शकको अपेक्षा आयोजकले राखेका छन् । शो को टिकट शुल्क २५ पाउण्ड छ । विशेष छुटसहितको अर्ली बर्ड टिकटहरु सबै बिक्री भइसकेको छ ।

उक्त अवसरमा दुर्गेशसंगै स्कटल्यान्डमै बस्ने स्थानीय नेपाली कलाकारहरुको लोकल ब्यान्डले समेत छुट्टै लाइभ प्रस्तुति गर्नेछ ।

दुर्गेशको लाइभ शोपछि सोही भेन्यूमा ‘आफ्टर  इभेन्ट’ बलिउड म्यूजिकल नाइट समेत तय भएको छ ।

एक हजार जनाको सहभागिता अपेक्षा गरिएको ‘आफ्टर इभेन्ट’ मा प्रवेश शुल्क १० पाउण्ड छ । विद्यार्थीलाई भने छुटसहित ७ पाउण्ड मात्र लिइनेछ ।

दुर्गेशको शो आयोजक स्कटल्यान्डमै आधारित यात्री इभेन्ट्स हो । जसको नेतृत्व स्कटल्यान्डका सफल युवा व्ययसायी खीमा गौतमले गरेका छन् । यात्री इभेन्टस्को ब्यानरमा उनीहरुले यसअघि गत जुलाइमा श्री गो एन्ड बिटुको लाइभ म्यूजिक नाइट आयोजना गरेका थिए ।

स्कटल्यान्डमा पनि नेपाली कलाकारहरुको गुणस्तरीय इभेन्टहरु आयोजना गर्ने उद्धेश्यले यात्री इभेन्ट्स स्थापना गरिएको निर्देशक खीमा बताउँछन् ।

‘स्कटल्यान्डमा पनि नेपाली कलाकारका गतिलो इभेन्ट र कन्सर्टहरु गर्नुपर्छ भनेर हामीले प्रयास गरेका हौं । राम्रो शो हेर्न लामो समय र धेरै खर्च गरेर इंग्ल्यान्ड नै जानुपर्ने बाध्यता अन्त्य गर्ने हाम्रो उद्धेश्य हो’, उनले भने, ‘त्यहिअनुसार हामी क्वालिटी इभेन्ट आयोजना गर्ने कोशिस गर्दैछौं । स्कटल्यान्डमा बस्ने सबै नेपालीले साथ दिएर हामीलाई अघि बढ्न हौसला दिनुहुन्छ भन्ने आशा गरेका छौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू