आइतबार, १० अगस्ट, २०२५
13:53 | १८:३८

गैर कानूनी आप्रवासीमाथि बेलायत कठोर, एक सातामै समातिए २८० जना

नेपाली लिङ्क अगस्ट १०, २०२५

लन्डन । बेलायत सरकारले गैर कानूनी रुपमा काम गर्ने आप्रवासीविरुद्ध कठोर अभियान शुरु गरेको छ । सरकारले विशेष गरि काम गर्ने अधिकार नभएका डेलिभरी ड्राइभरहरुमाथि टार्गेट गर्दै कयौंलाई गिरफ्तार गरेको हो ।

अध्यागमन अधिकारीहरुले गत २० जुलाईदेखि २७ जुलाईसम्म एक साता नर्थ वेष्ट लन्डनको हिलिङ्गडन, स्कटल्याण्डको डम्फ्रिस र बर्मिङ्घम लगायत क्षेत्रमा एकहजार ७८० जनालाई रोकेर सोधपुछ गरी तीमध्ये २८० जनालाई पक्राउ गरेको टेलिग्राफले जनाएको छ ।

पक्राउ परेकामध्ये ५३ जना शरणार्थीको सरकारी सुविधाबारे पुनरावलोकन गरिँदै छ, जसले गर्दा उनीहरूले पाउँदै आएको सहयोग रद्द हुन सक्छ ।

काम गर्ने अधिकार नभएपनि केही शरणार्थीहरूले डेलिभरी कम्पनी जस्तै डेलिभरो, जस्ट इट र उबर इट्समा काम गरी हप्तामा ५०० पाउन्ड (लगभग ८५ हजार रुपैयाँ) सम्म कमाइरहेका बताइएको छ । यसरी कमाएको रकम उनीहरूले मानव तस्करहरूलाई तिर्न बाँकी ऋणमा खर्च गरेको पाइएको टेलिग्राफको समाचारमा उल्लेख छ ।

गृह मन्त्रालय (होम अफिस) ले जुलाईको यस अभियानलाई ‘नेशनवाइड इन्टेन्सिफिकेसन वीक’ को नाम दिएको थियो जसले संगीत र डेलिभरी सेवामा काम गर्ने अवैध प्रवासीहरुमाथि केन्द्रित गरेको थियो ।

यसै अन्तर्गत ५१ वटा व्यवसाय (कार वास र रेस्टुरेन्ट) लाई अवैध रूपमा काम दिएको आरोपमा जरिवानाको प्रक्रिया अघि बढाइएको पनि होम अफिसले जनाएको छ ।
सरकारले सीमा सुरक्षाका लागि पहिले नै घोषित १० करोड पाउन्डमध्ये ५० लाख पाउन्ड खर्च गर्ने योजना बनाएको छ ।

यस बाबजुद साना डुङ्गामा इंगलिश च्यानल पार गर्दै ब्रिटिस तट आइपुग्ने अवैध आप्रवासीको संख्या यस वर्षमात्र २५ हजार पार गरेको छ, जुन २०२२ को अगष्टसम्मको रेकर्ड भन्दा पनि बढी हो ।

सीमा सुरक्षा मन्त्री डेम एन्जेला इगलले भनेकी छन् ‘अवैध कामले हाम्रो सीमा सुरक्षालाई कमजोर बनाउने भएकाले हामी यसविरुद्ध कडा कारबाही गरिरहेका छौं। हामीले बेलायतमा आप्रवासन र रोजगार कानूनहरू छल्न सकिन्छ भन्ने सोच्नेहरूलाई कारबाही गर्न बेलायतभरि हाम्रो गतिविधि तीव्र बनाएका छौं ।’

रिफर्म यूकेको समर्थन बढ्दै जाँदा सत्तारुढ लेबर पार्टीले हालैका सातामा अवैध आप्रवासन घटाउने प्रयासमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू