मंगलबार, १६ जुन, २०२६
16:52 | २१:३७

दयाहाङ, विजय बराल अभिनित ‘पूजा, सर’ लन्डनमा

नेपाली लिङ्क अगस्ट ८, २०२५

लन्डन । विश्वकै पुरानो फिल्म फेस्टिभल भेनिसको ८१औँ संस्करणमा वर्ल्ड प्रिमियर गरिएको नेपाली फिल्म ‘पूजा, सर’ लन्डनमा समेत प्रदर्शन हुने भएको छ ।

दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ आउंदो १५ अगष्ट शुक्रबार रिभरसाइड स्टुडियोजमा प्रदर्शन हुन लागेको हो ।

फिल्म प्रदर्शनका लागि निर्देशक रौनियार र मूख्य अभिनेत्री आशा मगराती अमेरिकाबाट लन्डन आइसकेका छन् भने निर्मातामध्ये एक पूर्णसिंह बराइली पनि छिट्टै आउने योजना छ । 

दक्षिण नेपालमा सन् २०१५ को जातीय विरोधको वास्तविक घटनामा आधारित छ फिल्म । नेपालको सीमावर्ती शहरमा दुई युवा अपहरित भएपछि मुद्दा समाधान गर्न काठमाडौंबाट गुप्तचर निरीक्षक पूजालाई त्यहां पठाइन्छ ।

यद्यपि, उनी आइपुगेपछि बढ्दो राजनीतिक अशान्ति र हिंसात्मक विरोधले उनी विचलित हुन्छिन् । यस कारण उनी स्थानीय मधेशी महिला प्रहरी ममतासँग मद्दत माग्न वाध्य हुन्छिन्।

प्रणालीगत भेदभाव पन्छाएर, दैनिक महिला द्वेषलाई पार गरि ति महिला मुद्दा पार लगाउन सफल हुन्छन् आफ्नो महत्त्वपूर्ण व्यक्तिगत मूल्य नचुकाइ । कथाको मुख्य सार यही हो ।

एकसय ८ मिनेट लामो पुलिस थ्रीलर फिल्ममा अभिनेत्री आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, रिचा शर्मा, गौमाया गुरूङलगायतको अभिनय छ ।

कयौं अन्तर्राष्ट्रिय महोत्सवहरुमा छनोट भइसकेको सो फिल्म जुलाई अन्तिम साता फ्रान्सका ६२ वटा हलमा एकसाथ प्रदर्शनमा आएको थियो । अन्तर्राष्ट्रिय फिल्मको केन्द्र मानिने फ्रान्समा पहिलोपटक यति ठूलो संख्यामा नेपाली फिल्म प्रदर्शन भएको यो नै पहिलो हो ।

भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियरयता बुसान, सिड्नी, टालिन ब्ल्याक नाइट्स स्टोनिया, गोथेनबर्गलगायतका महोत्सवमा पुगिसकेको छ । फिल्मले नेदरल्यान्ड्समा ‘फ्री टू बी मी’ मा अवार्ड पनि जितेको थियो ।

फिल्मलाई बेलायतको च्यानल फोरले खरिद गरिसकेको निर्माण पक्षको भनाइ छ ।

नोभेम्बर २०२५ देखि फिल्म एयरलाइन्समा पनि प्रदर्शन हुने बताइएको छ । अमेरिकी कम्पनी पेनी ब्ल्याक मिडियाले एयरलाइन्सको वितरण सम्हालेको हो ।

टिकट किन्न यहां क्लिक गर्नुहोस्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू