लन्डनमा पत्रकार महासंघ अध्यक्ष शर्मासंग एनआरएनए यूकेको अन्तरक्रिया



लन्डन- बेलायत भ्रमणमा आएकी नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासंग एनआरएनए यूकेले अन्तरक्रिया गरेको छ ।
बुधबार नर्थ वेष्ट लन्डनमा एक ‘मिट एण्ड ग्रीट’ कार्यक्रम आयोजना गरी उनलाई संस्थाको तर्फबाट सम्मान गर्दै अन्तरक्रिया गरिएको हो ।
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले दोसल्ला ओढाएर सम्मान गर्दै अध्यक्ष शर्माले नेपाली पत्रकारिताका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष शर्माले गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिन्। उनले भौगोलिक दूरीका बाबजुद पनि प्रविधिको माध्यमबाट नेपाली समुदाय एकआपसमा जोडिन सफल भएको बताइन्।
अध्यक्ष शर्माले आफूलाई सम्मान गरेकोमा एनआरएनए यूकेलाई धन्यवाद दिइन् । एनआरएनएभित्र सबै पक्षलाई समेटेर लैजानु संस्थापन पक्षको जिम्मेवारी रहेको बताउँदै उनले एकताको खाँचो औंल्याइन्।
उनले गैरआवासीय नेपालीका मुद्धाहरूमा नेपाली सञ्चारमाध्यमहरूले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिइन्।
एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले अध्यक्ष शर्मालाई बेलायतमा स्वागत गर्दै उनको भ्रमण उपलब्धिपूर्ण बन्ने शुभेच्छा व्यक्त गरे । विदेशमा बस्ने नेपालीहरुलाई मातृभूमिसंग जोड्ने कार्यमा नेपाली पत्रकारिताले पुर्याउंदै आएको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै उनले यस क्षेत्रलाई थप जिम्मेवार र मर्यादित बनाउन महासंघलाई आवश्यक भूमिका निर्वाह गर्न सल्लाह दिए।
एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष पुडासैनीले समुदायको ग्रासरुटसम्म पुगेर उनीहरुको भावना र समस्यालाई सम्बोधन गर्ने गरी ‘एक्सन प्लान’ बनाएर अघि बढ्ने प्रतिवद्धता दोहोर्याए।
उनले विदेशमा बस्ने नेपालीहरु विभिन्न जाति, क्षेत्र र समूहका आधारमा विभाजित हुनुभन्दा एउटै जाती नेपालीको प्रवद्र्धन गर्दै एकताको सूत्रमा बाँधिन जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा संघका उपाध्यक्ष रामशरण सिम्खडाले नेपाल पत्रकार महासंघसँग लामो समयदेखि सहकार्य हुँदै आएको स्मरण गर्दै भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
उनले संस्थाभित्रको विवाद समाधान प्रक्रियागत तरिकाले अघि बढाइनुपर्ने बताए। एनआरएनए सल्लाहकार चिरञ्जीवी ढकालले पत्रकार महासंघको नेतृत्वमा महिला हुनु गौरवको विषय रहेको उल्लेख गरे।
वरिष्ठ पत्रकार सुमन खरेलले अध्यक्ष शर्माको भ्रमणले नेपाल र बेलायतका पत्रकारहरूबीच अनुभव आदान–प्रदानको अवसर जुटाएको बताए।
एनआरएनए यूके अध्यक्ष पुडासैनीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन प्रवक्ता श्याम लुइटेलले गरेका थिए। संघकी नवनिर्वाचित उपाध्यक्ष डा. रक्षा थापाले स्वागत मन्तव्य दिँदै पत्रकार महासंघको महिला नेतृत्व सबैका लागि प्रेरणाको विषय रहेको बताइन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने, एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय परिषद अध्यक्ष राममाया विष्ट, महिला संयोजक बिनु लामिछाने, प्रवासी नेपाली मंच यूकेका पूर्वअध्यक्ष दिनेश घिमिरे, आइसीसी सदस्य तुंगभद्र भुसाल र सरस्वती केसीसहित एनआरएनए यूके पदाधिकारी एवम् पत्रकारहरु सहभागी थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५