साउथ वेष्ट लन्डनमा रास्वपा सम्पर्क विभाग यूकेको क्षेत्रीय समिति गठन



लन्डन– राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग बेलायतले साउथ वेष्ट लन्डनमा नयाँ क्षेत्रीय समिति गठन गरेको छ।
मंगलबार नर्थ ह्यारोस्थित सारस रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच समितिको औपचारिक घोषणा गरिएको हो।
नवगठित साउथ वेष्ट लन्डन क्षेत्रीय समितिको संयोजकमा शरद भुषाल चयन भएका छन् भने उपाध्यक्षमा पुरुषोत्तम खड्का, सचिवमा दिव्या शर्मा, उपसचिवमा सुरज ढकाल र कोषाध्यक्षमा किरण न्यौपाने चुनिएका छन्।
त्यस्तै सदस्यहरूमा रमेश जैसवाल, गोकर्ण अधिकारी, गीता बश्याल, सौगत पाण्डे र हिमाल बश्याल चयन भएका छन्। समितिमा अरु एक पद चाँडै थपिने जानकारी दिइएको छ।
कार्यक्रममा प्रवास विभाग यूकेका उपाध्यक्ष कोश्लेश्वर ढकाल र महासचिव कृष्ण लुइँटेलको प्रमुख आतिथ्य थियो।
समिति घोषणा गर्दै उपाध्यक्ष कोश्लेश्वर ढकालले नवगठित टोलीलाई बधाई तथा शुभकामना दिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग यूकेले प्रवासमा रहेका नेपालीहरूको हकहित र समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउने अभियानमा क्षेत्रीय समितिहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।
साउथ वेष्ट लन्डन समितिले स्थानीय नेपाली समुदायसँग प्रत्यक्ष सम्पर्क राख्दै पार्टीको नीति, विचार र उद्देश्यलाई फैलाउने कार्यमा अग्रसर हुने विश्वास उनले व्यक्त गरे।
केन्द्रीय समिति यूके विभागका महासचिव कृष्ण लुइँटेलले हालसम्म बेलायतमा पाँचभन्दा बढी क्षेत्रीय समिति गठन भइसकेको उल्लेख गर्दै निकट भविष्यमा यूकेभर संगठन विस्तार गर्ने योजनामा रहेको जानकारी दिए ।
उनले प्रवासी नेपालीहरूलाई संगठित गर्दै पारदर्शिता, जवाफदेहिता र सुशासनमा आधारित राजनैतिक चेतना फैलाउने कार्यलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी गराए।
विभागले प्रवासमा रहेका नेपालीहरूको हक–अधिकारको संरक्षण, सामाजिक सेवा र राजनीतिक जागरणमा सक्रिय भूमिका खेलिरहेको जनाउँदै महासचिव लुईंटेलले साउथ वेष्ट लन्डन समितिले पनि यही भावनालाई आत्मसात गर्दै उदाहरणीय कार्य गर्ने विश्वास व्यक्त गरे ।
नवगठित समितिले आगामी दिनहरूमा प्रवासमा रहेका नेपालीको समस्या समाधान, सामाजिक उत्तरदायित्वमा सहभागिता तथा पार्टीका नीति र कार्यक्रमहरूलाई जरोसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग यूकेले आगामी दिनहरूमा बेलायतका विभिन्न क्षेत्रमा समिति विस्तार गर्ने र विश्वभर रहेका नेपालीहरूको सक्रिय सहभागिता संस्थागत गर्ने अभियानलाई अझ तीव्रता दिने योजना रहेको जनाएको छ।