एनपीएल खेलाडीको अक्सन सूचीमा परे लन्डनमा रहेका तीन खेलाडी



लन्डन । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सार्वजनिक खेलाडीको अक्सन सूचीमा बेलायतमा रहेका तीनजना खेलाडी समेत परेका छन् ।
नेपाल क्रिकेट संक (क्यान) ले बुधबार सार्वजनिक गरेको खेलाडीको सूचीमा बेलायतमा रहेका प्रकाश विष्ट, नवीन तामाङ र सचिन शर्मा पनि समावेश भएका हुन् । उनीहरु तीनै जना क्याटेगोरी ‘सी’ मा परेका छन् । खेलाडीत्रय यहांको माया क्रिकेट क्लवमा आवद्ध छन् ।
प्रकाश विष्ट नेपालमा अण्डर १९ का पूर्व खेलाडी, सचिन तामाङ बाग्मतीका पूर्व खेलाडी र सचिन शर्मा आर्मीबाट खेलेका पूर्व खेलाडी हुन् । हाल बेलायतमै रहेका खेलाडी अर्जुन साउद क्याटेगोरी ‘ए’ मा परेका छन् ।
४५८ मध्येबाट १५० खेलाडी छानिएको थियो । एनपीएल अक्सन यही ९ अगष्ट शनिबार हुंदैछ ।
माया क्रिकेट क्लवका सञ्चालक युवा व्यवसायी राज पाण्डे एनपीएल अक्सनमा छानिनु सुःखद समाचार भएको बताउंछन् । ‘अक्सनमा छानिएपछि खेलाडीलाई कुनै फ्रेन्चाइजले लिने सम्भावना हुन्छ’, पाण्डेले नेपालीलिंकसंग भने, ‘अझ हाम्रै खेलाडीहरु छनोट भएकामा म निकै खुशी छु । उनीहरुलाई बधाई छ ।’
ए क्याटेगोरीका खेलाडीको अधिकतम मूल्य १५ लाख तोकिएको छ । ए क्याटेगोरीमा आदिल आलम, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, सुनाम गौतम, दिलिप नाथ, अर्जुन साउद र सूर्य तामाङ छन् । बी क्याटेगोरीका खेलाडीको अधिकतम मूल्य १० लाख र सी क्याटेगोरीका खेलाडीको अधिकतम मूल्य ५ लाख छ ।