पत्रकार महासंघ यूकेले धुमधामसंग मनायो १४ औं वार्षिकोत्सव (तस्विरहरु)



लन्डन । नेपाल पत्रकार महासंघ यूकेले आइतबार एक भव्य समारोहबीच आफ्नो १४ औं वार्षिकोत्सव मनाएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त कार्यक्रम समुद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्मा र बेलायत शाखा अध्यक्ष बिमला सेनेले संयुक्त रुपमा गरेका थिए । बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका झण्डै एकसय जना सहभागी उक्त कार्यक्रममा केक समेत काटिएको थियो ।
सो अवसरमा शाखाले यसै वर्षदेखि शुरु गरेको ‘वर्ष पत्रकारिता सम्मान २०२५’ बीबीसी नेपाली सेवाका पूर्व प्रमुख वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई प्रदान गरेको छ ।
२५१ पाउण्ड नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो । नेपाली हाल अमेरिकामा रहेकाले उनको सम्मान आफन्त ज्ञानेन्द्र राउतले ग्रहण गरे । नगद २५१ पाउण्ड भने नेपालीकै आग्रहमा गोर्खा सेन्टर च्यारिटीलाई प्रदान गरियो ।
पुरस्कार छनोट समितिका संयोजक वरिष्ठ पत्रकार सुमन खरेलले सम्मानित व्यक्तित्व नेपालीको पत्रकारितामा ५ दशक लामो योगदानबारे जानकारी दिएका थिए ।
कार्यक्रम सम्बोधनका क्रममा प्रमुख अतिथी महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्माले आफू पहिलो महिला अध्यक्षले वैदेशिक शाखाको पहिलो महिला अध्यक्ष विमला सेनेलाई प्रत्यक्ष बधाई दिन पाउनु गर्वको विषय भएको बताइन् ।
नेपालदेखिको पत्रकारिताको हुटहुटीलाई निरन्तरता दिन विदेशमा समेत यस पेशामा क्रियाशील हुनु चुनौतिपूर्ण रहेको बताउंदै अध्यक्ष शर्माले बेलायतको पत्रकारिताबाट केही नयाँ सिकेर त्यो ज्ञान, सीप नेपालमा लैजान सुझाव दिइन् ।
पत्रकार वा पत्रकारिता विभाजित भए त्यसबाट सत्य तथ्य र विश्वसनीतामा आंच आउने औंल्याउंदै शर्माले जवाफदेही भएर समुदायका मुद्दा उजागर गर्न आग्रह गरिन् ।
बेलायत शाखाको विवादतर्फ इंगित गर्दै अध्यक्ष शर्माले केन्द्रले हस्तक्षेप भन्दा स्वतन्त्र रुपमा समाधान गर्न सहजीकरण गर्ने प्रष्ट्याइन् । नेतृत्वमा जाने चाहनेले समर्पण गर्नुपर्ने औंल्याउंदै उनले शाखा र पत्रकारिता जोगाउन सबैमा आग्रह गरिन् । नेतृत्वमा पुग्ने अवसर सबैलाई आउने भएकाले एक भएर अगाडि बढ्न शाखालाई उनको अनुरोध थियो ।
अहिले नेपालको पत्रकारितामा आर्थिक मन्दीले समयमा तलव नपाउनु, मिडिया बन्द हुने क्रम जारी, प्रेस स्वतन्त्रता हनन जस्ता कयौं चुनौति सामना गर्नु परिरहेको उल्लेख गर्दै उनले जस्तो परिस्थितिमा पनि जवाफदेही पत्रकारिता गर्नु पत्रकारहरुको दायित्व भएको बताइन् ।
प्रमुख अतिथी राजदूत घिमिरेले यहांका पत्रकारहरुलाई आगामी दिनमा ब्रिटिश ‘मेन स्ट्रिम’ मिडियामा कसरी आवद्ध हुन सकिन्छ त्यसबारे सोच्न सुझाए । पत्रकारिता क्षेत्रमार्फत बेलायत नेपाल सम्बन्ध प्रगाढ बनाउन अतुलनीय योगदान पुगेको पनि उनले बताए ।
राज्य बलियो बनाउन राज्यको चौंथो अंग पत्रकारिताको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै राजदूत घिमिरेले फुटेर भन्दा जुटेर शक्ति बढाउने काम गर्न आग्रह गरे ।
संघसंस्था संख्यात्मक भन्दा पनि दरिलो, भरपर्दो एवं विश्वसनीय बनाउन उनको सुझाव थियो ।
शाखा अध्यक्ष विमला सेनेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, प्रमुख अतिथी, केन्द्रिय अध्यक्ष, अतिथीहरु एवं समस्त कार्यसमितिप्रति आभार व्यक्त गरिन् ।
सेनेले अग्रजहरुको मार्गदर्शन मानेर अगाडि बढ्ने जनाउंदै बेलायतमा बसेर पनि सानातिना कुरामा अल्झंदा समुदायमा राम्रो सन्देश नजाने भएकाले सबैलाई एकतावद्ध हुन आग्रह गरिन् ।
सो अवसरमा कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले स्वागत मन्तव्य दिंदै शाखाको १४ वर्ष यताका गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गरे ।
महासचिव खेमराज रानाभाटले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष प्रमिला लाबुङ राईले नेपाल पत्रकार महासंघ जापान र युरोप शाखाले पठाएका शुभकामना सन्देश वाचन गरेकी थिइन् ।
दोश्रो चरणमा साधारणसभा
दोश्रो चरणमा भएको संस्थाको साधारणसभामा सुझावसहित वार्षिक र आयव्यव प्रतिवेदन पारित गरियो ।
बन्द सत्रमा नेपाल पत्रकार महासंघ यूके पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार नरेश खपांगीमगर, केन्द्रिय प्रतिनिधि डा. शिव तिवारी, पूर्व वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेल, नेपाल प्रेस युनियन युरोप अध्यक्ष सञ्जयभक्त कंडेल लगायतले मन्तव्य दिंदै आ-आफ्ना धारणा र सुझाव दिएका थिए ।
सो सत्रमा प्रमुख अतिथी केन्द्रिय अध्यक्ष निर्मला शर्माले आफू केन्द्रको प्रतिनिधित्व गर्दै बेलायत शाखाको विवाद मिलाउने प्रयास स्वरुप यहां आएको बताइन् । केन्द्रले शाखाको समस्या समाधान गर्न विवाद समाधान तथा सहजीकरण समिति बनाएको र उक्त समितिले छिट्टै निकास निकाल्ने अपेक्षा गरिएको पनि अध्यक्ष शर्माको भनाइ थियो । पत्रकारिता आफैं जिम्मेवार भएर गरिने पेशा भएको भन्दै उनले विभाजन भए हाम्रो पत्रकारिता अरुले विश्वास नगर्ने धारणा राखेकी थिइन् ।
बन्द सत्र समापनका क्रममा अध्यक्ष विमला सेनेले सहयोगी सबैलाई धन्यवाद दिइन् । पत्रकारहरु पेशाप्रति जिम्मेवार हुनुपर्छ भन्दै सेनेले केन्द्रिय अध्यक्ष बेलायतमै रहंदा विवाद समाधानका लागि प्रयास भइरहेको पनि जनाइन् ।
सो अवसरमा बेलायत अध्यक्ष सेनेले केन्द्रिय अध्यक्ष शर्मा, राजदूत घिमिरे एवं प्रायोजकहरुलाई शाखाका तर्फबाट मायाको चिनो प्रदान गरिन् । यस सत्रमा उपाध्यक्ष प्रमिला लाबुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् ।
यसैबीच, सोही कार्यक्रममा फोनिज यूकेले अध्यक्ष शर्मालाई स्वागत-सम्मान गरेको छ ।