शनिबार, २ अगस्ट, २०२५
23:58 | ०४:४३

१६औं नेपाली मेला सफल बनाउन लन्डन दूतावासमा तमुधिं यूकेको छलफल

नेपाली लिङ्क अगस्ट २, २०२५

लन्डन – बेलायतमा यही अगष्ट २४ आइतबार आयोजना हुन लागेको १६औं नेपाली मेला तयारीबारे आयोजक तमुधिं यूके र लण्डनस्थित नेपाली दूतावासबीच छलफल भएको छ ।

शुक्रबार तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली लन्डन दूतावास पुगेर बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेसहितको दूतावास टिमसंग छलफल गरेको हो ।

सो अवसरमा १६ औं नेपाली संयोजक एवं तमुधिं यूके उपाध्यक्ष कमल गुरुङले मेलाको तयारीबारे जानकारी गराएका थिए । उनले मेलाको अवधारणा, कार्यक्रम तालिका, व्यवस्थापन पक्ष तथा आवश्यक समन्वयबारे बताएका थिए ।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेलामा लन्डन दूतावासको तर्फबाट हुँदै आएको सहयोग र सहकार्यको लागि आभार प्रकट गरे । उनले मेलालाई सफल बनाउन सामूहिक सहभागिता र सहकार्यको आवश्यकता औंल्याउँदै सबैलाई सक्रिय योगदान दिन आग्रह गरे ।

सो अवसरमा राजदूत घिमिरेले नेपाली मेलाजस्तो कार्यक्रमलाई सफल पार्न दूतावास सधैं सकारात्मक रहेको बताए । उनले आवश्यक सहयोग, समन्वयका साथै सुझाव र छलफलका लागि समेत दूतावासको ढोका सधैं खुला रहेको स्पष्ट पारे ।

सो अवसरमा तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु ज्ञाम गुरुङ, हित काजी गुरुङ र हरि गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, महासचिव डा विशाल गुरुङ र सचिव विमल गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङसहितको सहभागिता थियो।

त्यस्तै दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी, सैनिक सहचारी अनुप शाहलगायत पनि छलफलमा सहभागी थिए।

तमुधिं यूकेको आयोजना तथा लन्डन दूतावासको सहयोगमा बेलायतमा हरेक वर्ष नेपाली मेला आयोजना हुँदै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू