शुक्रबार, १ अगस्ट, २०२५
21:46 | ०२:३१

मानव तस्करले बेलायत छिराइरहेका छन् आप्रवासी, यसै वर्ष गैर कानूनी छिरे २५ हजार

नेपाली लिङ्क जुलाइ ३१, २०२५

लन्डन । साना डुंगामा गैर कानूनी रुपमा बेलायत प्रवेश गर्ने आप्रवासी संख्या बढेको छ । सन् २०२५ यता २५ हजार बढी आप्रवासीले अंग्रेजी च्यानल पार गरेका आधिकारिक तथ्याङ्क उधृत गर्दै बीबीसीले जनाएको छ ।

गृह मन्त्रालयले बुधबार १३ वटा डुङ्गामा ८९८ जना आप्रवासी इंगलिस च्यानल हुंदै डोभर किनारमा आइपुगेका जनाएको छ । यससंगै आप्रवासी संख्या यो वर्षको ७ महिनामा २५ हजार ४३६ पुगेको छ ।

मन्त्रीहरूले मानव तस्करी गिरोहमाथि कारबाही गर्ने चुनौतीसँग जुध्न प्रयासरत रहंदा यो संख्या आएको हो। सन् २०२५ कै अप्रिल अन्त्यमा १० हजार र जुन अन्त्यसम्म २० हजार आप्रवासी गैर कानूनी रुपमा बेलायत छिरेका थिए ।

छाया गृहमन्त्री क्रिस फिलिपले यसलाई ‘राष्ट्रिय आपतकाल’ भन्दै सत्तारुढ लेबरले क्रसिङ रोक्न केही नगरेको आरोप लगाएका छन् ।

यद्यपि, सरकारले मानव तस्करी गिरोहको सञ्जाल ‘ध्वस्त’ पार्न फ्रान्ससँग गुप्तचर जानकारी आदानप्रदान गरिरहेको र सीमापार सहयोगलाई बलियो बनाउँदै आएको बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘हामी साना डुङ्गा क्रसिङको सबै खतरनाक क्रियाकलाप अन्त्य गर्न चाहन्छौं, जसले मानिसको जीवन खतरामात्र होइन्, हाम्रो सीमा सुरक्षालाई समेत कमजोर बनाएको छ ।’

राष्ट्रिय अपराध एजेन्सीले बिहीबार च्यानलमा प्रयोग गर्न लक्षित २५ वटा साना डुङ्गा जफत गर्न बुल्गेरियाली अधिकारीहरूसँग काम गरेको जनाएको छ ।

सन् २०२० मा च्यानल क्रस गरेर ८ हजार ४६१ आप्रवासी बेलायत छिरेका थिए भने २०१९ मा त्यो संख्या १ हजार ८३५ थियो । २०१८ मा २९७ जनाले क्रस गरेको रेकर्ड गरिएको थियो, यद्यपि तथ्याङ्कहरू नोभेम्बर ३ बाट मात्र प्रकाशित गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू