बुधबार, ३० जुलाइ, २०२५
23:13 | ०३:५८

लन्डन टुरमा यस्तरी खुलिन् गायिका सुनिता दुलाल

नरेन्द्र बस्नेत जुलाइ ३०, २०२५

लन्डन । तीज माहोलले जब बजार तात्न थाल्छ, तब लोकप्रिय गायिका सुनिता दुलाल मिडिया र स्टेजहरुमा झन् बढी छाउंछिन् । कारण के भने तीजकै गीतबाट स्थापित भएकी हुन् उनी ।

सुनिताले हरेक वर्ष मौलिक तीजका गीतहरु सार्वजनिक गर्छिन् र देश विदेशका कार्यक्रममा व्यस्त पनि हुन्छिन् ।

यसपटक प्रेमराजा महतको शब्द संगीतमा ‘अहिलेको तीजैमा’ बोलको गीत दर्शक श्रोतामाझ ल्याइसकेकी छिन् उनले । यसपटकको तीजमा उनी जापानको विभिन्न शहरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुनेछिन् ।

सांगीतिक क्षेत्रमा झन्डै दुई दशक बिताइसकेकी सुनिताले तीनसय बढी गीत गाइसकेकी छन्, जसमा डेढ सय जति त तीजका गीत छन् ।

यतिखेर सांगीतिक यात्राका क्रममा युरोप हुँदै बेलायत आएकी गायिका सुनिताले अब बिहे गर्ने बेला आएको र आफू पनि तयार रहेको बताएकी छन् । सांगीतिक करियरलाई प्राथमिकतामा राख्दा बिहे गर्न केही ढिलाइ भएपनि आफ्नो लागि बल्ल बिहे गर्ने उपयुक्त समय आएको उनी बताउंछिन् । ‘हरेक कुराको उचित समय आउनुपर्छ, आफ्नो करियरतर्फ बढी फोकस भएकाले बिहे गर्ने कुरालाई यसअघि खासै प्राथमिकता दिइन’, उनले बताइन् ।

गीत संगीतकै कारण आफू अहिले यो स्थानमा रहेको बताउंदै यदि पहिला नै बिहे गरेको भए सायद यो सम्भव नहुने उनको भनाइ छ ।

‘छोटो समयमा दर्शक स्रोताको धेरै माया पाउने भाग्यमानी कलाकारको रुपमा म आफूलाई ठान्छु, संगीत सम्बन्धि अध्ययन गरेर आफ्नै फिल्ड संगीतकै क्षेत्रमा आफूलाई चिनाउन पाउँदा म पूर्ण रुपमा सन्तुष्ट छु’- उनले भनिन् ।

‘मायालुले झल्को दिइरहने’ बोलको पहिलो गीतबाट सांगीतिक यात्रा शुरु गरेकी सुनितालाई ‘आमाले पकाएको मिठो दर खानलाई’, बोलको तीज गीतले सांगीतिक धरातलमा सुनिता दुलालको रुपमा स्थापित गरायो । त्यसपछि अर्को तीज गीत ‘अब त मैले नि झुम्का लगाउंछु’ बोलको गीतले त उनलाई कहिले पनि पछाडि फर्किनु परेन ।

विदेशमा बस्ने नेपालीहरुकै कारण नेपाली कलाकारहरुको भविष्य पनि जोडिएको उनको बुझाइ छ । नेपालमा हुने केही मेला महोत्सवबाहेक कलाकारहरुको प्रमुख गन्तव्य विदेशमा आयोजना गरिने विभिन्न कार्यक्रम रहेको उनले बताइन् । त्यसो त सुनितालाई लन्डन पानी पधेंरो छ । पछिल्लो समय डिजिटल प्लेटफर्मका कारण आर्थिक रुपमा थप सहज भएको उनको अनुभव छ ।

देश विदेश र मेला महोत्सवमा निकै व्यस्त रहँदै आएकी सुनिता आर्थिक पाटो पनि सन्तोषजनक नै रहेको बताउंछिन् ।

विदेशमा जन्मे हुर्केका बालबालिकालाई नेपाली भाषा सिकाउन उनको अनुरोध छ । विदेशमा रहेपनि नेपाललाई निरन्तर माया गरिराख्न र भावी पुस्तालाई पनि नेपालसंग जोडिराख्न उनले विदेशमा बस्ने सम्पूर्ण नेपालीलाई आग्रह गरेकी छन् ।

आफूलाई गलाले साथ दिइन्जेल यही सांगीतिक क्षेत्रमा लागिरहने उनले सुनाइन् । ‘परिवार र गीत संगीतलाई म्यानेज गरेर निरन्तर अघि बढ्छु, जबसम्म दर्शक स्रोताको माया पाउँछु, तबसम्म यस क्षेत्रमा लागिरहन्छु’, उनको अठोट छ ।

हेर्नुस् भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू