बुधबार, ३० जुलाइ, २०२५
07:32 | १२:१७

बीसीसी गुम्बामा छ्योखोर दुचेन पूजा, धर्म गुरुहरुको स्वागत र विदाई

नेपाली लिङ्क जुलाइ २९, २०२५

लण्डन—बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बुद्धका चार मुख्य तिथी मध्येको एक धर्म चक्र (छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी) को अवसरमा विशेष पूजा आयोजना गरेको छ । २८ जुलाई सोमबार विविध कार्यक्रमका साथ बिसीसी यूकेको अल्डरसटस्थित गुम्बामा पूजा गरिएको हो ।

काठमाण्डौं, बौद्धस्थित सेचन गुम्बाका दोर्जिन निमा लुङ्गरिक रिन्पोछेको विशेष उपस्थितिमा गरिएको उक्त कार्यक्रममा बीसीसी यूकेका प्रमुख लामा खेन्पो छिरिङ, खेन्पो पुर्तेम्बा, लोपेन सोनाम, लोपेन वाङ्गदीले पूजापाठ गरेका थिए । 

पूजाको शुरुवातमा माहायानाका प्रमुख लुङथेप्पा गुरुद्वारा प्रकाशित वाङ चुङ यीङ थीक धर्म पुस्तक बीसीसी यूकेलाई ३१ ठेली प्रदान गरिएको थियो। धर्म गुरु, कार्यसमिति र सहभागी भक्तजनहरुले लुङ्गछेक्पा धार्मिक पेचा (पुस्तक) लाई गुम्बा परिसरभित्र सम्मान स्वरुप ३ पटक गुम्बा परिक्रमा गरी पूजाकक्षको मुख्यालयमा अधिष्ठानका साथ सुरुक्षित राखेका थिए ।

सो अवसरमा दोर्जिन रिन्पोछेले बुद्धको चार आर्य सत्य (फोर नोवल ट्रुथ), धर्म चक्र प्रवर्धनबारे प्रवचन दिए । उक्त प्रवचनलाई खेन्पो पुर्तेम्बाले नेपालीमा अनुवाद गरेका थिए ।

त्यस्तै, दोर्जिन रिन्पोछे लगायत धर्मगुरुहरुले धर्मचक्र (छोक) पूजा, दीप प्रज्वलन (मर्मे) पाठ, आयु वृद्धि हुने सिद्धि, प्राणिधान (मलम) पाठलगायत पूजाहरु गरेका थिए ।

कार्यक्रममा बीसीसी यूके अध्यक्ष आङ्गदावा शेर्पाले धर्म गुरुहरु र उपस्थित भक्तजनहरुलाई स्वागत गर्दै छ्योखोर दुचेनबारे छोटो जानकारी दिएका थिए । बीसीसी यूकेका पदाधिकारीका साथै आमाहरुले धर्म प्रवचनका लागि मण्डला अर्पण गरेका थिए ।  

सो अवसरमा बीसीसी यूकेको निमन्त्रणामा हालै बेलायत आएका खेन्पो छिरिङ्ग र लोपेन वाङ्ग्दीलाई बीसीसी यूकेका अध्यक्ष शेर्पा र आमा प्रमुख जगना गुरुङले खादा लगाई स्वागत गरेका थिए । सोही अवसरमा बीसीसी यूके अल्डरसट र बीसीसी यूके लण्डन शाखामा रहेर विभिन्न पूजापाठसंगै प्रवचन दिंदै आएका खेन्पो पुर्तेम्बालाई विदाई गरिएको थियो ।


उक्त कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष ले. काजी शेर्पा, उपाध्यक्ष क्याप्टेन देब घले, कोषाध्यक्ष मेजर बलदीप तामाङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, बीसीसी यूकेका कार्यसमिति पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति थियो ।

बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षता र उपाध्यक्ष मेजर हितमान गुरुङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम महासचिव मेजर कुमार गुरुङ एमभीओले संचालन गरेका थिए ।

स्मरण रहोस्, बेलायतमा आफ्नो भाषा, कला, संस्कार र संस्कृति संरक्षण तथा संवर्द्धन, च्यारिटीमूलक कार्य, बौद्ध शिक्षा प्रवर्द्धन लगायत उद्देश्यका साथ स्थापना भएको बीसीसी यूकेले विभिन्न कार्यक्रम गर्दै आएको छ । –पूर्ण गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू