आइतबार, २७ जुलाइ, २०२५
23:39 | ०४:२४

एनआरएनए यूकेमा राजेन्द्र पुडासैनी नेतृत्वको नयाँ टिमले लियो शपथ

नेपाली लिङ्क जुलाइ २७, २०२५

लन्डन- एनआरएनए यूकेको नवनिर्वाचित १२औं कार्यसमितिले शपथग्रहण तथा पदभार ग्रहण गरेको छ । आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित अधिवेशन तथा घोषणसभामा नवनिर्वाचित अध्यक्ष राजेन्द्र पुडासैनी नेतृत्वको टिमको पदस्थापन गरिएको हो ।

शनिबार सम्पन्न अनलाइन निर्वाचनबाट चुनिएका अध्यक्षसहित खुला उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्यान्ड), महासचिव, सचिव, आइसीसी सदस्य र इंग्ल्यान्ड राज्य परिषद अध्यक्षसहित जम्मा ७ पद तथा यसअघि नै निर्विरोध सिंगो कार्यसमितिको शपथग्रहण गराइएको हो ।

निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई शपथग्रहण गराएका थिए भने सदस्य सचिव श्याम लुईंटेलले कार्यसमितिको नाम पढेर सुनाएका थिए । निर्वाचन समितिका सदस्यहरु राजन खकुराल र विमल गुरुङले माला र प्रमाणपत्र प्रदान गरे ।

राजेन्द्र पुडासैनी नेतृत्वको नवनिर्वाचित कार्यसमितिको खुला उपाध्यक्षमा डा रक्षा थापा र उज्ज्वल कार्की तथा स्कटल्यान्ड क्षेत्रबाट रामप्रसाद कंडेल, वेल्स क्षेत्रबाट कृष्ण भण्डारी एवं नर्दन आयरल्यान्ड क्षेत्रबाट लिलाराम निउरे उपाध्यक्ष बनेका छन् । महिला उपाध्यक्ष कमला श्रेष्ठ र महासचिवमा दिवाकार पाण्डे निर्वाचित भएका छन्।

सचिवमा डिएन खराल र कृष्ण देवकोटा, महिला सचिवमा छमकला न्यौपाने पोखरेल, कोषाध्यक्षमा सरोज थापा, सहकोषाध्यक्ष दीपक तिमल्सिना, महिला संयोजकमा बिनु लामिछाने र युवा संयोजकमा वासुदेव पोखरेल निर्वाचित भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यमा लोकनाथ अधिकारी, गोपीप्रसाद सापकोटा, दीपक गैरे, विष्णुभक्त भट्टराई, दुर्गाप्रसाद काफ्ले, बालकृष्ण भुषाल, दिनेश परियार, मोहन ओली, शिवकान्त खराल, झपेन्द्र सापकोटा र प्रमोद भण्डारी छन्।

बेलायतबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्यहरुमा विष्णु खरेल, तुंगभद्र भुषाल र छविलाल अर्याल निर्वाचित भएका छन् ।

राज्य समन्वय परिषदअन्तर्गत इंग्ल्यान्डमा राममाया विष्ट, स्कटल्यान्डमा शेर केसी, वेल्समा विकास रानाभाट र नर्दन आयरल्यान्डमा पूर्णेश्वर कंडेलको नेतृत्वमा कार्यसमिति निर्वाचित भएका छन् ।

प्रतिवद्धता मन्तव्यमा अध्यक्ष पुडासैनीका यस्ता अठोट

अध्यक्ष राजेन्द्र पुडासैनी

नवनिर्वाचित अध्यक्ष पुडासैनीले प्रतिवद्धता मन्तव्य व्यक्त गर्ने क्रममा समस्त मतदाता, निवर्तमान कार्यसमिति, निर्वाचन समिति तथा परिवार, अभियान संयोजक दिनेश घिमिरे, ओएनएफ यूके अध्यक्ष पशुपति पोखरेल लगायतलाई विशेष धन्यवाद दिए ।

‘साख हाम्रै कारणले बिग्रेको छ । एनआरएनको उद्देश्य पवित्र छ तर हामीले गरेका कामले संस्थाको साख गिरेको छ’, उनले भने, ‘चुनौतिमाझ साख फर्काउन र सुधार गर्न म कटिवद्ध रहनेछु ।’

एनआरएनएको जननी बेलायत एनसीसी विश्वका अरुले सिको गर्ने खालको बनाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए । ग्रासरुटका समस्या नसुनेसम्म संस्था अगाडि जान नसक्ने भन्दै उनले नेपाली डायस्पोरासंग मिलेर काम गर्ने, नेपालीपन जोगाएर राख्ने, अर्को समूहले गरेको आर्थिक हिनामिना पब्लिकमा ल्याउने र आफ्नो कार्यकालको हरहिसाब एकदम पारदर्शी राखिने उनको प्रतिवद्धता थियो ।

पुडासैनीले सबैको साझा संस्थाका रुपमा संघलाई रुपान्तरण गर्ने अठोट समेत व्यक्त गरे । सबैले ‘फिल’ गर्न सक्ने जवाफदेही र एकतावद्ध एनआरएनए यूके बनाउने दावी गर्दै उनले नकारात्मक रुपमा मात्र प्रस्तुत नहुन समुदायसमक्ष अपिल गरे ।

निवर्तमान अध्यक्ष हितकाजी गुरुङले सांकेतिक रुपमा आफ्नो कुर्सी हस्तान्तरण गर्दै पुडासैनी नेतृत्वको टिमलाई बधाई तथा शुभकामना दिए । उनले भविष्यमा केही सहयोग आवश्यक परे आफू सधैं साथ दिन तयार रहेको समेत बताए ।

१२ औं अधिवेशनमा शुभकामना र प्रतिवेदन प्रस्तुत

यसअघि एनआरएनए यूके निवर्तमान अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा १२ औं अधिवेशन भएको थियो ।

सो सत्रमा एनआरएनए यूके उपाध्यक्ष मनिष खत्रीले स्वागत मन्तव्य दिएका थिए ।

शुभकामना दिने क्रममा संघका ट्रष्टी चिअर तथा निवर्तमान अध्यक्ष सुनिलबाबु खड्काले संस्थालाई राम्रो बनाउन चिन्तन नगरी आफ्नै लागि प्लेटफर्म बनाउने कामले संस्थाको साख घटेको बताए ।

फ्रिज भएको च्यारिटी अकाउन्ट आफ्नो नाममा आएपछि स्वर्गीय सदीक्षा तामाङको नाममा संकलित रकम १० हजार ५०५ पाउण्ड नेपाल परिवारलाई पठाइसकिएको समेत खड्काले अवगत गराए ।

एनआरएनए युरोप महिला संयोजक प्रसुना कंडेलले सक्षम केही महिलासहित नयां कार्यसमिति निर्वाचित भएकामा खुशी व्यक्त गर्दै नयां निर्वाचित कार्यसमितिलाई शुभकामना दिइन् ।

एनआरएनए उपमहासचिव सोम सापकोटाले उर्जाशील नयां नेतृत्व चयन भएको भन्दै बधाइ तथा शुभकामना दिए। अबको नेतृत्वले संस्थालाई एकवद्ध र सक्रिय बनाउंदै छाता संगठन बनाएर देशको समृद्धिमा लाग्न उनले शुभकामना दिए ।

आइसीसी उपाध्यक्ष एवं प्रमुख निर्वाचन आयुक्त रामशरण सिम्खडाले निभ्न लागेको संस्थालाई जिवित राखेको भन्दै हितकाजी गुरुङलाई शुभकामना दिए । निर्वाचनका क्रममा एनआरएनए यूकेमा देखिएको जस्तो सौहार्दता केन्द्रका नालायकहरुले सिकेको भए अवस्था यस्तो जटिल हुन्थेन भन्दै केन्द्रप्रति आक्रोश व्यक्त गरे । उनले नयां पुस्तालाई संघमा आउने वातावरण बनाउन यूके कार्यसमितिलाई अपिल गरे ।

विशेष अतिथी एनआरएनए केन्द्रिय उपाध्यक्ष डा. हेमराज शर्माले च्यारिटी एकाउन्ट फिर्ता ल्याउनु उपलब्धि भएको बताए । केन्द्रको च्यारिटी विभाग संयोजक समेत रहेका शर्माले यूके एनसीसीलाई पनि च्यारिटी काम गर्न सुझाए ।

ठूलो समुदाय बाहिर रहेकाले उनीहरुलाई संगै लिएर जान नयां कार्यसमितिसमक्ष चुनौति रहेको उनको धारणा थियो । अक्टोबरमा १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन सफल बनाउन पनि उनले अपिल गरे ।

आफू केन्द्रमा दुई पटक उपाध्यक्ष भइसकेकाले आउंदो महाधिवेशनमा अध्यक्षको प्रत्यासी हुने बताउंदै सहयोगकालागि अपिल पनि गरे । संस्थामा व्यापक रुपान्तरणको खांचो रहेको पनि उनले औंल्याए ।

नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष बलबहादुर थापा, स्कटल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष दिवाकर पाण्डे र इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भुप्रसाद अर्यालले आआफ्नो प्रगति प्रतिवेदन पेश गरेका थिए ।

महासचिव गोविन्द खरेलले केन्द्रमा लडाईं भएकाले भौतिक रुपमा सोचेजस्तो कार्यक्रम गर्न नसकिएको स्वीकार गर्दै केही कार्यक्रम भने गरिएको बताए ।

उनले तत्कालिन राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत, मेयर रेनु दाहालको उपस्थितिमा महिला दिवस, सर्वोच्चका न्यायधिशहरुको सहभागितामा नेपाली नागरिकता निरन्तरता वहस, बाढीपीडितका लागि आर्थिक सहयोग, बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालनजस्ता कार्यक्रम गरिएको जानकारी दिए ।

कोषाध्यक्ष विष्णु खरेलले आयव्यय प्रतिवेदन प्रस्तुत गरे ।

हितकाजी गुरुङले भूकम्प पीडित, बेलायतमा दिवंगत विद्यार्थीहरुको शव नेपाल पठाउन आर्थिक सहयोग जस्ता कयौं काम गरेको उल्लेख गर्दै राज्य समन्वय परिषदहरुले आफ्नो समितिलाई धेरै सहयोग गरेकामा धन्यवाद दिए । उनले नयां कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै आफ्नो कार्यसमितिको सहयोगप्रति आभार समेत व्यक्त गरे ।

अधिवेशनमा एनआरएनए आइसीसी सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना, बुद्धिजिवी भक्त गुरुङ, संस्थापक सचिव चिरन्जिवी ढकाल, एनआरएनए यूके आइसीसी सदस्यहरु दिलरास गुरुङ, सरस्वती केसी र डा. मुकुन्द बास्तोला, तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमुधिं यूके पूर्व अध्यक्ष हरि गुरुङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

तस्विरहरुः प्रकाश कंडेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू