शनिबार, २६ जुलाइ, २०२५
09:11 | १३:५६

शालिन र अनुभवी खरेल सुधार एजेन्डासहित एनआरएनए यूके अध्यक्षको मैदानमा

नेपाली लिङ्क जुलाइ २५, २०२५

लन्डन- एनआरएनए यूके निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्ष पदका उम्मेदवार गोविन्द खरेलले आफूलाई मत दिन अपिल गरेका छन् ।

चुनावी अभियानको अन्तिम दौडाहमा रहेका इंग्ल्याण्ड नटिङहाम निवासी युवा व्यवसायी तथा एनआरएन अभियन्ता खरेलले संस्थाको ‘आमुल सुधार’ आफ्नो मुख्य स्वार्थ रहेको बताउंदै मतदातालाई विवेक प्रयोग गर्न पनि अनुरोध गरेका छन् । 

‘मैले एनआरएनए अभियानमा धेरै पसिना बगाएको छु । अबको नेतृत्व मुख्यगरि एनआरएनए यूकेको रिफर्म नै हो’ खरेलले नेपालीलिंकसँग भने । 

सालिन र आइटी ग्राजुएट्स खरेलको भिजन र एजेण्डा भने आक्रामक छन् । एनआरएनएमा लामो अनुभव हासिल गरेकाले दक्ष नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास उनमा छ। 

एनआरएनए यूके अहिले गिजोलिएको अवस्था छ । यहाँका दुईटा एनआरएनएबीच एकता गरि सामाजिक सौहार्दता कायम गर्ने उनको प्रमुख योजना छ ।

वंशजको नेपाली नागरिकता निरन्तरता, राज्य समन्वय परिषद र एनसीसीबीच एकता र प्रगाढ सम्बन्ध, नयां र पुरानो पुस्तालाई एनआरएनए यूकेभित्र अटाउन प्रयत्न, एनसीसी र आइसीसीबीच सम्बन्ध मजवुत, मातृभूमिको समृद्धि र आपतविपतमा साथ, गोर्खा मुद्दामा पहल र ऐक्यद्धता, धार्मिक, सामाजिक, जातीय संघसंस्थाहरुबीच सबैको साझा संस्थाका रुपमा एनआरएनए यूकेलाई स्थापित गर्न पहल गर्ने जस्ता उनका एजेण्डा छन्।

विदेशमा रहेको युवा पिंढीलाई मातृभूमिसंग जोडिने वातावरण बनाउन लाग्ने पनि उनको प्रण छ ।

एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी दिन किन अगाडि सरे उनी ? प्रश्नमा खरेलको प्रष्टिकरण छ, ‘म एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदको संस्थापक सचिव, एनसीसी उपाध्यक्ष हुंदै अहिले महासचिव छु । ६ वर्षको कार्यावधिमा मैले संस्थालाई गहिराइमा बुझ्ने अवसर पाएं । राज्य परिषद, एनसीसी र आइसीसीको मर्म के हो, समस्या र स्थिति कस्तो छ ? देशदेखि बाहिर बस्दाको समस्या के छ ? के कुरा सम्बोधन गर्नुपर्छ त्यो बुझ्न पाएं । यसकारण म डिजर्भ गर्छु भन्ने लाग्छ ।’

एनआरएनए यूके निर्वाचन जुलाई २६ तारिख शनिबार अनलाइन माध्यमबाट हुंदैछ । भोलिपल्ट २७ जुलाईमा अधिवेशन तथा निर्वाचित कार्यसमितिको घोषणासभा हुने कार्यक्रम छ ।

को हुन् खरेल ?

गुल्मी वामी टक्सारका स्थायी बासिन्दा खरेल सिंगापुर, हल्याण्ड हुंदै सन् २०१३ मा उच्च शिक्षाका लागि बेलायत आए । बेलायत आएदेखि मिडल्याण्डको नटिङहाम बस्दै आएका उनी पेशाले आइटी विज्ञ हुन् र रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेका छन् ।

नेपाली समाज नटिङहामको महासचिव र अध्यक्ष भएपछि एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषदको संस्थापक सचिव (०१९-०२१) भए उनी ।

एनआरएनए यूकेको २०२२ देखि २०२३ मा उपाध्यक्ष र २०२३ देखि २०२५ कार्यकाल अर्थात अहिले महासचिवको जिम्मेवारीमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू