शनिबार, २६ जुलाइ, २०२५
00:53 | ०५:३८

एनआरएनए यूके कोषाध्यक्षमा दुई कार्यकालपछि विष्णु आइसीसीमा उम्मेदवार

नेपाली लिङ्क जुलाइ २४, २०२५

लन्डन- एनआरएनए यूकेमा दुई कार्यकाल सफलतापूर्वक कोषाध्यक्षको जिम्मेवारी सम्हालेका विष्णु खरेल यतिबेला आइसीसी सदस्यको चुनावी मैदानमा छन्।

जुलाइ २६ शनिबार हुने निर्वाचनमा बेलायतबाट केन्द्रमा प्रतिनिधित्व गर्ने आइसीसी सदस्यको लागि उनी उम्मेदवार छन् ।

विगत केही वर्षदेखि एनआरएनए यूकेको केन्द्रमा रहेर सक्रियतापूर्वक जिम्मेवारी वहन गर्दै आएका खरेलले एनसीसीमा काम गर्दा संगालेको अनुभवबाट अब आइसीसी प्लेटफर्ममा योगदान गर्ने आफ्नो आकांक्षा रहेको बताए।

एनआरएनए यूकेमा विगत ४ वर्ष कोषाध्यक्षको भूमिका निर्वाह गर्दा खरेलले हक्की र इमान्दार स्वभावका अभियन्ताको छवि स्थापित गरेका छन् । संस्थाको आर्थिक पारदर्शिता र खर्च कटौतीलाई उनले आफ्नो कार्यसम्पादनका प्रमुख प्राथमिकता बनाएका थिए ।

‘पछिल्लो दुई कार्यकाल एनआरएनए यूकेको कोषाध्यक्षको जिम्मेवारीमा आफ्नो क्षमता र विवेकले भ्याएअनुसार इमान्दारीपूर्वक काम गर्ने कोशिस् गरें । जतिसुकै चुनौती, वाधा र दबाबबीच पनि संस्थाको आर्थिक पारदर्शीता र वचतलाई केन्द्रमा राखेर काम गरें’, आइसीसी सदस्यका रुपमा बेलायतवासी नेपालीहरुबाट साथ र समर्थनको लागि आव्हान गर्दै खरेलले भनेका छन्, ‘मलाई विश्वास छ कि म यो अभियानमा अझै धेरै योगदान गर्न सक्छु । आफ्नो अनुभवको आधारमा केन्द्रमा पुगेर ठूलो प्लेटफर्ममार्फत् अझ धेरै काम गर्न चाहन्छु ।’

बेलायतको नेपाली समुदायका सफल व्यवसायी खरेल लामो समयदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न छन् । पेशाले इमिग्रेसन एड्भाइजर उनले भिजा क्वेष्ट नामक इमिग्रेसन एड्भाइजिङ कम्पनीमार्फत् इमिग्रेसन सेवा पनि उपलब्ध गराउँछन् ।

कलाकारितामा समेत सौखिन खरेलले मोडलका रुपमा नेपालका चर्चित सेलिब्रेटीहरुका साथ केही म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू