एनआरएनए यूके निर्वाचन तयारी पूरा, निष्पक्ष गराइन्छ: समिति



लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को निर्वाचन तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ ।
समितिले बिहीबार सांझ एक पत्रकार सम्मेलन गरि तयारीबारे जानकारी दिएको हो ।
यही २६ जुलाई शनिबार मध्यरात ००ः०० बजेदेखि २६ जुलाई २०२५, राती १० बजेसम्म अनलाइन मार्फत हुने तयारी छ ।
प्रमुख निर्वाचन आयुक्त रामशरण सिम्खडाले निर्वाचनलाई विश्वले उत्सुकतापूर्वक हेरिरहेको जनाउंदै निर्वाचन निष्पक्ष र पारदर्शी हुने प्रतिवद्धता व्यक्त गरे ।
इण्डिपेन्डेन्ट आइएसओ सर्टिफाइड कम्पनी भेरो भोटिङमार्फत मतदान व्यवस्था मिलाइएको उनले जनाए । उनले सदस्यता लिंदा प्रयोग गरेको इमेलमा भेरोले शुक्रबार परीक्षणका लागि लिंक पठाउने र पछि आउने उसको आधिकारिक लिंकमार्फत मतका लागि प्रोसेस गर्नुपर्ने जानकारी दिए ।
भेरोले फेस भेरिफिकेसनमार्फत सदस्यता बन्दा लिएको सेल्फीसंग कम्तीमा ८० प्रतिशत फेस मिल्ने भएमात्र मत गर्न अनुमति दिने प्रमुख आयुक्त सिम्खडाले जनाए ।
स्मार्ट एनआरएनए एपबाट भोट गर्न नमिल्ने उनले प्रष्ट्याए । एउटै वाइफाइबाट ७ जनाभन्दा बढीले मत गर्न नपाउने प्रष्टयाउंदै मास भोटिङ नगर्न उनले सुझाए ।
सिम्खडाले भेरो कम्पनीका तीन जना र संघका दुईजना आइटी विज्ञ सम्मिलित प्राविधिक टिमले मतदातालाई कुनै कठिनाइ आए बिहान १० देखि बेलुकी १० बजेसम्म सघाउने पनि जनाए ।
उनले भोट कसरी हाल्ने भन्नेबारे विस्तृत जानकारी दिंदै निर्वाचनलाई समुदायका विभिन्न क्षेत्रका विज्ञहरुले पर्यवेक्षण समेत गर्ने उल्लेख गरे । सिम्खडाले निर्वाचनलाई अदालत र परराष्ट्र मन्त्रालयले समेत वैधता दिएको उल्लेख गर्दै कसैले हुलहुज्जत गर्न खोजे त्यसको कानूनी प्रतिवाद गरिने बताए ।
परिणाम घोषणा तथा पदस्थापन कार्यक्रम (शपथ र प्रमाणपत्र वितरण) २७ जुलाई सांझ ५ बजे अल्डरसट एम्पायर हलमा गरिने समितिले जनाएको छ ।
कार्यक्रममा केन्द्रिय सहकोषाध्यक्ष कृष्ण तिमिल्सेनाले सबै मतदातालाई निर्वाचनमा भाग लिएर योग्य उम्मेदवारलाई मत दिन सुझाए । तिमिल्सेनाले यस चुनावलाई आइसीसी केन्द्रले नजिकबाट नियालिरहेको पनि बताए ।
संघका संस्थापक एवं आइसीसी सल्लाहकार चिरन्जिवी ढकालले विगतमा काठमाडौंमा भएको सामान्य प्राविधिक त्रुटी मनन गर्दै निष्पक्ष र विवादरहित चुनाव गराउन शुभकामना दिए ।
निर्वाचन समितिका सदस्य सचिव श्याम लुईंटेलले कार्यक्रम सञ्चालन गर्दै तयारीबारे जनाए । उनले उपाध्यक्षमा उम्मेदवारी दिएका ५ जनामध्ये एकजनाले निर्वाचन समितिसमक्ष उम्मेदवारी निकाल्न अनुरोध गरेकाले अब ४ जनामात्र उम्मेदवार रहेको पनि बताए ।
योग्य मतदाताले संसारभर जहांबाट पनि मतदान गर्न सक्ने लुईंटेलले बताए ।
निर्वाचन समितिमा सिम्खडा, लुईंटेलसहित विक्रम भट्टराई, विमल गुरुङ र राजन खकुराल रहेपनि कार्यक्रममा अरु सहभागी थिएनन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५