एनआरएनए यूके अध्यक्षका कान्छो उम्मेदवार, एजेण्डा भने परिपक्व र दमदार



लन्डन- एनआरएनए यूकेको अध्यक्ष पदका तीन उम्मेदवारमध्ये सबैभन्दा कान्छो उम्मेदवार हुन् मनिष खत्री । स्टकल्याण्ड राज्य परिषदको सचिव, उपाध्यक्ष हुंदै एनआरएनए यूके एनसीसी उपाध्यक्ष खत्रीले उमेर भन्दा योग्यतालाई हेरेर मतदान दिन सबैमा अपिल गरेका छन् ।
वुद्धि, विवेक र श्रोतसाधन लगाएर संस्थालाई नेतृत्व गर्ने उनको सोच छ ।
त्रिपक्षीय भिडन्तमा तपाईं एक्लै जस्तो देखिन्छ नि भन्ने नेपालीलिंकको लाइभ संवादमा खत्रीले भने, ‘म एक्लो देखिएको होइन, एक्लै हिंडेको हो । समूह वा गुट भन्दापनि सिद्धान्त, विचार, भिजनलाई अगाडि लिएर जानुपर्छ भन्ने मेरो सोच छ ।’
पेशाले सफ्टवेयर इन्जिनियर उनी आफूलाई स्वतन्त्र उम्मेदवार भन्न रुचाउंछन् । बालेनले स्वतन्त्र भएर पनि चुनाव जितिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै उनले परिष्कृत एनआरएनए सबैको आशा भएकाले यस अभिभावकीय संस्थामा परिवर्तनका लागि नेतृत्व लिन तयार रहेको बताए ।
‘संस्थागत एकता, समावेशी नेतृत्व’ नारा लिएर मैदानमा उत्रिएका मनिषसंग श्रोत र निर्णय शक्तिसहित संयुक्त अधिराज्यका चारै राज्यहरुलाई अधिकार दिएर सशक्त बनाउने एजेण्डा छ ।
वंशजको नेपाली नागरिकता अभियान, गोर्खाजका अधिकार, बेलायतका स्कुलमा नेपाली भाषा कक्षा, नेपालको पहिचान जोगाउन र नेपाली खाना एवं पर्यटनलाई अन्तर्राष्ट्रिय प्रचार प्रसार, मातृभूमिको समृद्धिमा पहल आफ्नो नेतृत्व लाग्ने उनको प्रतिवद्धता छ । एडिनबरा नेपियर युनिभर्सिटीमा करिब १८ हजार विद्यार्थीहरुको युनियन अध्यक्ष भएर विद्यार्थीका पोष्ट स्टडी वर्क लगायत धेरै समस्या बेलायत सरकारसम्म लगेको उनको भनाइ छ ।
गत महिना एनआरएनए यूके उपाध्यक्षको हैसियतमा ‘मेम्बरसीप ड्राइभ’ को संयोजक भूमिका निर्वाह गरेका खत्रीले करिब ९०० सदस्यबाट संस्थामा ३५०० सदस्य बनाउन आफ्नो टिम सफल भएको बताए ।
स्कटल्याण्डमा बसेपनि विगत कार्यसमितिहरुमा छंदा दिइएका सबै जिम्मेवारी पूरा गरेको, कुनै बैठक नछुटाएको र आवश्यक पर्दा नेपालसम्मै गएर काम गरेकाले भूगोलले नेतृत्वमा केही असर नगर्ने उनले बताए ।
‘नेपाल सरकारले मान्यता दिएको संस्था एनआरएनएले भोलिका दिनमा अभिभावकीय संस्थाको भूमिका खेल्नुपर्छ’, खत्रीले नेपाली लिंक लाइभ संवादमा भने, ‘यो धनीको क्लव मात्र होइन, सबैको हुनुपर्छ भनेर मैले ग्रासरुटसम्म पुगी युवा, वृद्धवृद्धालाई जोड्ने अनि दुई संस्था एक बनाउन ब्रिजिंगको रोल गर्नेछु ।’
उपाध्यक्ष छंदा आइसीसीका विवाद र आन्तरिक झगडा बाबजुद धेरै काम गरेको उनले स्मरण गरे । दूतावासमा सामाजिक सञ्जालको दुरुपयोग रोक्ने उपायमा अन्तरक्रिया होस् वा विभिन्न फोरममा मेन्टल हेल्थ अवेरनेस होस्, हरेक जिम्मेवारी सफलतापूर्वक पूरा गरेको उनले दावी गरे ।
खादा मालाको लिडरसीप, भाषणको लिडरसीप भन्दा संस्था खस्केको बेला सबैलाई सुन्न सक्ने एनआरएनए बनाउन लाग्ने उनको अठोट छ । ‘दुईटा एनआरएनए यूकेबीच एकता र युवा पुस्तालाई संस्थामा आकर्षित गर्न ‘ब्रिज’ को काम गर्ने मेरा एजेण्डा छन् । मलाई साथ दिनुहोला’- खत्रीले भने ।
आफूले जिम्मेवारी पाए ‘सुपर एप’ विकास गर्ने र त्यस एपमार्फत नेपालबाट आएका विद्यार्थी, कामदार वा आम नेपालीलाई जोडेर उनीहरुका समस्या समाधानमा पहल गर्ने, हेल्थ टिप्स, कानूनका कुरा समावेश, संस्थाको पारदर्शीता देखाउन सबै विवरण राखिने जस्ता योजना पनि उनले सुनाए ।
एनआरएनएमा राजनीतिक हस्तक्षेपले यसको गरिमा खस्केको बताउंदै उनले यो राजनीति गर्ने संस्था नभइ च्यारिटी गर्ने संस्था भएको उल्लेख गरे ।
एनआरएनए यूके निर्वाचन यही २६ जुलाई शनिबार अनलाइन माध्यमबाट हुंदैछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५